वनभोजमा जानुभएकी जसपा सांसद रहमानको हृदयघातका कारण निधन
भक्तपुर, १३ फागुन (रासस) :सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन जानुभएकी जनता समाजवादी पार्टी(जसपा)का सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको छ ।
आज जसपा नेपाल गैरभौगोलिक विशेष प्रदेश समिति, बौद्धिक पेसाकर्मी समितिले आयोजना गरेको होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा भद्रपुर नगरपालिका–६ स्थायी घर भई हाल मध्यबानेश्वर काठमाडौँ बस्ने ६४ वर्षीय रहमान वनभोजस्थलमै मेचबाट एक्कासी ढलेर बेहोस भएपछि उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा लगिएकामा अस्पतालका चिकित्सकले सांसद रहमानको मृत्यु भएको घोषणा गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
जसपाकी केन्द्रीय सदस्यसमेत रहनुभएकी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद हुनुभएको थियो । सांसद रहमानको शव मध्यपुर अस्पतालबाट कानुनी प्रक्रिया पु¥याएर लैजाने तयारी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिनुभयो ।
आगम्छे पुनःनिर्माण गरिने
काठमाडौँ, १३ फागुन (रासस) ःहनुमान ढोकास्थित ऐतिहासिक सम्पदा आगम्छे घर पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण उक्त घरमा क्षति पुगेको थियो ।
आगम्छे घरको पुनःनिर्माण नहुँदा मोहन चोक, सुन्दरी चोक, कालिका मन्दिर र लक्ष्मीनारायण सत्तलको काम पनि अघि बढ्न सकेको थिएन । रोकिएका काम जनसहभागिता जुटाएर अघि बढाइने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयकै सहभागितामा आगम्छे घरलगायतको काम तत्काल अघि बढ्छ ।”
विश्वसम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पले ७५ सम्पदा क्षतिग्रस्त भएका थिए । चौध सम्पदाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । “पुनःनिर्माण भइरहेका सम्पदा आगामी डेढ वर्षभित्र पूरा गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।
हनुमानढोकाको दक्षिणतर्फ रहेको ऐतिहासिक नौतले दरबार, बसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर चीन सरकारको सहयोगममा पुनःनिर्माण गरिएका छन् । काष्ठमण्डप, नाटेश्वर, पञ्चमुखी हनुमान, तारिणीदेवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो, लक्ष्मीनारायण मन्दिर, कागेश्वरी मन्दिर, नागरा वंशगोपाल, श्वेत भैरव, सिल्यान सत्तल, गद्दी बैठक, ढुकुटी चोक, तलेजु मन्दिर नजिकैको सानो मन्दिर, तलाजु टेराकोटा तोरण, प्रताप मल्लको सालिकलगायतको पुनःनिर्माण सम्पन्न भएको छ । ऐतिहासिक गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा निर्माण सम्पन्न भई हाल सर्वसाधारणका लागि खुला गरिएको छ ।
कूल ४४ रोपनी क्षेत्रफलमा फैलिएको वसन्तपुर दरबार क्षेत्र सन् १९७९ मा विश्वसम्पदा सूचीमा समावेश गरिएको थियो । महानगर क्षेत्रभित्रका ठूला जात्रा तथा पर्व सञ्चालन गर्दा हनुमान ढोका दरबार क्षेत्रमा पुग्ने चलन छ ।
–––


