कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको उल्लेख गर्दै निषेधित क्षेत्र घोषणा
विराटनगर, ३ चैत (रासस) :कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशको नाममा असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना र जुलुश हुनथालेपछि सुरक्षामा असर पार्न सक्ने भन्दै निषेधित क्षेत्र घोषण गरेको हो ।
प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयानुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुश, भेला, ¥याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेध गरिएकाले जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो आदेश उलङ्घन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले सूचनामा उल्लेख गरेको छ ।––
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल
काठमाडौँ, ३ चैत (रासस) :
जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबी नायक बने । उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल नै जाउलाखेलको लागि निर्णायक गोल सावित भयो ।
यस जितसँगै जावलाखेलले पाँच खेलमा दश अङ्क जोडेको छ । थ्रीस्टारले पाँच खेलमा सात अङ्क जोडेको छ ।
यसैगरी सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको अर्को खेलमा चर्च ब्वाइज युनाईटेड क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै एक एक अङ्क बाडेका छन् ।
खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरी खेलसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अङ्क जोडेको छ भने मछिन्द्रले ५ खेलमा ५ अङ्क जोडेको छ ।–


