गुमेको आँखाको ज्योति फर्कदा दङ्ग

म्याग्दी, ८ चैत (रासस) : नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । चार दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा उपचार शिविर आज सम्पन्न भएको छ ।

हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ म्याग्दीले सञ्चालन गरेको शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष अमर बानियाँले जानकारी दिनुभयो । स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा दुई हजार दुई सयको आँखा परीक्षण गरिएको थियो । “गाउँमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ”, उहाँले भन्नुभयो ।

रघुगङ्गा गाउँपालिकाको पाखापानी, मङ्गलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो । हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो ।

शिविरमा आउनुभएका बेनी नगरपालिका–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको बताउनुभयो । बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । “आँखा देख्न नसक्दा घरबाट निस्कन सकेको थिइन, । शल्यक्रियापछि दुवै आँखा देख्ने भए । अब हिँडडुल गर्न तथा आफैँ खाना पकाएर खान सक्छु”, उहाँले भन्नुभयो ।

बेनी नगरपालिका–५ की ७० वर्षीया पार्वती बानियाँले आँखा देख्न छाडेको तीन वर्ष भए पनि मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएको थिएन । “पोखरा जाने समय र पैसा नहुँदा मोतियाबिन्दुको शल्यक्रिया गर्न सकेको थिइन”, उहाँले भन्नुभयो, “बेनीमा मोतियाबिन्दुको शिविर सञ्चालन भएपछि सस्तोमा शल्यक्रिया गरेर गुमेको ज्योति फर्कियो ।”

यसअघि गत असोजमा १९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

जिल्लामै शिविर सञ्चालन हुँदा शल्यक्रिया गर्नका लागि पोखरा जाने झन्झट अन्त्य भएको सङ्घका सचिव राजेन्द्र श्रेष्ठले बताउनुभयो । “एकजनाको आँखाको शल्यक्रिया गर्न रू २० हजार र तीन दिन लाग्छ । शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ”, उहाँले भन्नुभयो । धुँवा, धुलो, आँखाको सरसफाइ र चेतनाको कमीले मोतियाबिन्दु र जलबिन्दुको हुने भएकाले धुँवा, धुलोबाट आँखालाई बचाइ सरसफाइमा ध्यान दिनुपर्ने शिविरमा सहभागी चिकित्सकको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।