सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

–भीष्मराज ओझा/सिबी अधिकारी
काठमाडौँ, १८ वैशाख (रासस) : हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ ।

आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गरेपछि आरोहण सुरु हुन्छ ।

वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । जुन सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

सन् २००७ देखि पर्यटन विभागको सम्पर्क अधिकृत भएर काम गर्नुभएका ज्ञानेन्द्र श्रेष्ठले आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको बताउनुभयो ।

इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको छ । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाएको थियो । दोस्रो शिविदेखि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ ।

इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाका अनुसार अहिले सगरमाथाको चौँथो शिविरसम्म बाटो बनिसकेको छ । पछिल्लो तीन दिनदेखि सगरमाथा क्षेत्रमा मौसम खराबीले बाक्लो हिउँ परिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टर सगरमाथाको दोस्रो शिविरमा आराम गरिरहेका छन् । मौसम अनुकुल हुने वित्तिकै चुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताउनुभयो । साउथ कोलबाट चुुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उहाँको भनाइ छ ।

सगरमाथा क्षेत्रको मौसम बिग्रियो

आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका शाखा अधिकृत तथा सम्पर्क अधिकृत सुरज अर्यालले सगरमाथा क्षेत्रको मौसम पूरै विग्रिएको जानकारी दिनुभयो । दुई÷तीन दिनदेखि निरन्तर मौसम बिग्रिएकाले तेस्रो शिविरबाट आरोहीहरु फर्कन थालेका छन् । आरोहण अनुमति लिएका अधिकांश आरोही यतिबेला सगरमाथाको आधारशिविर आसपास पाल टाँगेर बसेका छन् ।

नेपालसहित ६५ देशका आरोही
पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सबैभन्दा बढी चीनबाट ९६, अमेरिकाबाट ८९, भारतबाट ४०,३, हङ्गेरीबाट ३३, क्यानडाका २१, रुसका १८, बेलायतका १५ र नेपालका १५ आरोहीले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।

सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले आरोहण गरेका छन् । तथ्याङ्कअनुसार हालसम्म तीन सयभन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् । आरोहणलाई व्यवस्थित गर्न पर्यटन विभागले सगरमाथाको आधारशिविरमा सम्पर्क कार्यालय खोलेर आवश्यक कर्मचारी खटाएको छ ।

बुधबारदेखि मौसम सफा हुने

पश्चिमी वायुको न्यून चापीय रेखाका साथै स्थानीय वायुको प्रभावले देशभरको मौसम आइतबारदेखि बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यो मौसम प्रणाली बुधबारदेखि कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभागअन्तर्गको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखिको मौसम बदली मङ्गलबार पनि उस्तै हुने र बुधबारदेखि केही कमजोर हुने जानकारी गराउनुभयो । “वर्षा मङ्गलबार पहाडमा धेरै तराई केही घट्छ भने आज बेलुकादेखि कम हँुदै जानेछ । बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा देखिन्छ”, उहाँले भन्नुभयो । मौसम बदलीसँगै भएको वर्षाले हिमाली क्षेत्रको पर्यटनमा अवरोध पुर्‍याएको छ ।

महाशाखाले पछिल्लो मौसमी आवस्थाबारे सम्बन्धित निकायमा खबर गरिसकेको जनाएको छ । महाशाखाले गरेको मौसमी विश्लेषणअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने देशैभरका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशका एक–दुई स्थानमा हावाहुरिको सम्भावनासमेत छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि देशैभरका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्र प्रभावित हुनसक्ने भन्दै त्यसबाट हुनसक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।