अखाद्य वस्तु प्रयोग गर्ने पानीपुरी पसल बन्द

रत्ननगर, ३ साउन । अखाद्य वस्तु प्रयोग गरेको पाइएपछि भरतपुरका दुई पानीपुरी बनाउने पसल बन्द गरिएको छ । भरतपुर महानगरपालिकाले मङ्गलबार गरेको बजार अनुगमनमा भरतपुर–१० का दुई पानीपुरी बनाउने पसलले अखाद्य वस्तु प्रयोग गरेको पाइएपछि तिनलाई बन्द गराइएको हो । सप्तगण्डकी चोक र ज्ञानदर्शन सडकमा रहेको पानीपुरी बनाउने दुई पसल बन्द गराइएको महानगरपालिकाले जनाएको छ । बजारमा अखाद्य वस्तु खुलेआम बिक्री वितरण भइरहेको लिखित उजुरी आएपछि महानगरले ती पसलमा अनुगमन गरेको थियो ।वडाध्यक्ष परमेश्वर खनालले भन्नुभयो, “यी दुवै पानीपुरी पसल बन्द भएका छन्, अब सरसफाइ गरेर प्रक्रिया पु¥याएर आए विचार गर्नसकिन्छ ।” अनुगमनका क्रममा पानीपुरी पसल दर्ता नगरी सञ्चालन गरिएको र पानीपुरी बनाउन प्रयोग गरिने मसला, अमिलो एवं रङ अखाद्य भेटिएको छ ।

त्यसैगरी अनुगमन समितिले भरतपुर–१० अस्पताल सडकमा रहेको न्यु थकाली होटल एण्ड तन्दुरी रेष्टुरेन्ट र छहारी तन्दुरी होटलले अखाद्य तेल प्रयोग गरेको, सरसफाइमा ध्यान नदिएको, भान्छामा खाना पकाउदा सावधानी नअपनाएको पाइएको समितिले जनाएको छ । अनुगमनका क्रममा अघिल्ला आर्थिक वर्षमा गरिएको बजार अनुगमन निकै प्रभावकारी भएको उल्लेख गर्दै महानगरउपप्रमुख चित्रसेन अधिकारीले चालु आर्थिक वर्षमा पनि बजार अनुगमनले थप निरन्तरता पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो,“यो वर्ष महानगरले बजार अनुगमनलाई अझ सशक्त रुपमा लैजाने तयारी गरी काम सुरु गरेको छ ।”स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो । बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली बनाएर बजार अनुगमन गर्ने कामलाई तीव्र बनाएको छ ।

अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफूल, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्य वस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको अधिकारीले बताउनुभयो । बजार अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेलले होटल तथा खाद्य बस्तुका मात्रै नभइ सबै प्रकारका क्षेत्रमा महानगरले छड्के अनुगमन गर्ने गरेको बताउनुभयो । उपभोग्य सामान मात्र बिक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र बनाइएको महानगरपालिकाले जनाएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖