अब एम्बाप्पे बिक्रीमा !
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई बिक्रीमा राखेको छ। एम्बाप्पेले आउने समर ट्रान्सफर विन्डोमा सित्तैमा क्लब छाड्ने योजना बनाएको थाहा हुन आएसंगै पिएसजीले उनलाई बिक्रीमा राख्ने निर्णय गरेको हो।
चर्चित ट्रान्सफर बजारका जानकार फाब्रिजियो रोमानोका अनुसार पिएसजीले आजैबाट एम्बाप्पेलाई बिक्रीमा राखेको छ। पिएसजीले एम्बाप्पेलाई सम्झौता थप गर्ने विषयमा निर्णय दिएको अल्टिमेटम सकिसकेको र यससंगै पिएसजीले एम्बाप्पेलाई बिक्रीमा राख्ने निर्णय गरेको रोमानोले जनाएका छन्।
एम्बाप्पे सन् २०२४ को समरमा सित्तैमा रियल जाने पक्षमा रहेको पिएसजीको निष्कर्ष रहेको छ। पिएसजीले एम्बाप्पेलाई बिक्रीमा राखेसंगै प्रि-सिजनका लागि जापान भ्रमण गर्ने पेरिस सेन्ट जर्मेनको टोलीबाट बाहिर राखेको छ।
एम्बाप्पेले गत वर्ष मात्रै पिएसजीसँगको सम्झौता थप गरेका थिए। एम्बाप्पे र पिएसजी बीचको सम्झौता सन् २०२४ मा सकिनेछ। पिएसजी र एम्बाप्पे बीचको सम्झौतामा एक वर्ष थप गर्न सकिने विकल्प रहेको भएपनि एम्बाप्पेले एक वर्ष थप नगर्ने निर्णय गरिसकेका छन्।
यसको अर्थ यो हुन्छ कि एम्बाप्पे सन् २०२४ को जनवरी ट्रान्सफर विन्डोमा फ्री एजेन्टको रुपमा क्लबबाट बाहिरिनेछन्। एम्बाप्पेलाई सित्तैमा गुमाउनु पर्ने भएकै कारण पिएसजीले एम्बाप्पेलाई यसै समर ट्रान्सफर विन्डोमा बिक्री गर्ने निर्णय गरेको हो।


