के विवाहित युवा–युवतीको जीवनबाट से’क्स हराइरहेको छ ?

‘हामीले समयमै सही परामर्श नपाएको भए हाम्रो विवाह टुटिसकेको हुन्थ्यो ।’

कलङ्की काठमाडौँका इन्जिनियर मनिष (नाम परिवर्तन) ले २०७० मा विवाह गरेका थिए तर सात वर्ष अर्थात् २०७७ भित्र श्रीमतीसँगको सम्बन्ध असाध्यै बिग्रिसकेको थियो ।

उनी भन्छन्, ‘सबै कुरा ठिकठाक हुँदाहुँदै पनि हामीबीच शारीरिक सम्बन्ध निकै कम हुँदै गएको थियो । यो करिब पाँच वर्षसम्म चल्यो र त्यसपछि सम्बन्धमा यसको प्रभाव देखिन थाल्यो । अन्ततः हामीले विज्ञको सहयोग लिनुपर्यो ।’

मनिष र उनकी श्रीमती दुवै जागिरे हुन् । उनीहरूमाथि जे भयो, त्यो कुनै असामान्य कुरा होइन ।

विश्वभर नै युवा दम्पतीहरू, विशेष गरी विवाहित मिलेनियल्स वा युवाहरूमा यौनप्रतिको अरुचि बढ्दै गएको देखिन्छ ।

सन् १९८० को दशकको सुरुवातदेखि १९९० को दशकको अन्त्यको बीच जन्मिएकालाई मिलेनियल वा जेनेरेसन वाई भनिन्छ । उनीहरूको उमेर अहिले २५ देखि ४० वर्षको बीचमा छ ।

यो त्यो उमेर हो जसमा मानिस शारीरिक सम्बन्धमा सबैभन्दा बढी सक्रिय हुन्छ भन्ने विश्वास गरिन्छ । यसलाई सेक्सुअल प्राइम टाइम पनि भनिन्छ । तर यो समयमा उनीहरूमा सेक्सको चाहना कम हुने प्रवृत्ति देखिएको छ ।

सेक्समा घट्दो रुचि

इन्डियाना युनिभर्सिटीको किन्से इन्स्टिच्युट र सेक्स टोय बेच्ने कम्पनी ‘लभ हनी’ले सन् २०२१ मा १८ देखि ४५ वर्ष उमेर समूहका अमेरिकी युवाहरूमाझ एउटा सर्वेक्षण गरेका थिए ।

यस सर्वेक्षणका अनुसार गत वर्ष विवाहित जोडीमा यौन इच्छा कम हुने समस्या मिलेनियलमा सबैभन्दा बढी देखिएको थियो ।

यस अनुसार, विवाहित मिलेनियल्समा २५.८ प्रतिशतलाई यौनमा कम रुचि भएको थियो जबकी उनीहरूपछिको पीढी (जेनेरेसन जेड) मा १०.५ प्रतिशत र पहिलाको पीढी (जेनेरेसन एक्स) मा २१.२ प्रतिशत देखिएको थियो ।

सन् १९५६ देखि १९८० को बीच जन्मिएका मानिसलाई जेनेरेसन एक्स र सन् १९९० को दशको अन्तिमदेखि २०१० को दशकको सुरुवातको बीचमा जन्मिएकाहरूलाई जेनेरेसन जेड मानिन्छ ।

मनोवैज्ञानिकले पनि पछिल्लो समय मिलेनियल्समा सेक्सप्रति वितृष्णामा वृद्धि भइरहेको बताएका छन् ।

कम उमेरका विवाहित जोडी विशेषगरी मिलेनियल्सले आफूमा यौन चाहना घटेको र शारीरिक सम्बन्ध निकै कम भइरहेको बताउने गर्छन् ।

विवाहित जोडीमा शारीरिक सम्बन्ध स्थापित गर्न निकै कम वा बन्द हुनुलाई सेक्सलेस म्यारिज भनिन्छ अर्थात् यस्ता विवाह जसमा यौन सम्बन्ध शून्य बराबर हुन्छ ।

विशेषज्ञका अनुसार जोडीले वर्षमा १० भन्दा पनि कम पटक यौन सम्बन्ध स्थापित गरिरहेका छन् भने यस्तो विवाहलाई सेक्सलेस म्यारिज भनिन्छ ।

किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ता जस्टिन लेहमिलर भन्छन्, ‘श्रीमान्–श्रीमतीमध्ये एक वा दुबैमा यौनको चाहना कम हुन्छ भने उनीहरुबीच शारीरिक सम्बन्ध कम बन्न थाल्छन् । यौन चाहनामा आएको यो कमीले विवाहलाई सेक्सलेस बनाउन सक्छ ।’

किन बढ्दै छ ‘दूरी’

अमेरिकाको क्यालिफोर्नियाकी सेक्स थेरापिस्ट क्रिस्टिन लोजानो भन्छिन्, ‘इच्छामा असन्तुलन यस्तो विषय हो जसलाई ख्याल गरिएन भने यो समयसँगै बढ्दै जान्छ । यदि कसैले बारम्बार पहल गर्छ र उसको पार्टनरले उसलाई अस्वीकार गरिरहन्छ भने उसको आत्मसम्मानमा चोट पुग्छ । यस्तै, अस्वीकार गर्ने पार्टनरलाई पनि पछुतो हुनेछ । जसका कारण यौन उत्तेजना पनि प्रभावित हुने अवस्था सिर्जना हुन्छ ।’

उनी भन्छिन्, ‘सेक्सलाई असम्भव, पीडादायी, अप्ठ्यारो वा अप्रिय बनाउने अन्य मेडिकल वा मनोवैज्ञानिक कारणहरू छन् । व्यस्तता, कामको बोझ र सन्तानले पनि यौन सम्पर्कलाई कम गर्न सक्छ । पति–पत्नीले एक अर्काको इच्छाको कुरा नगर्नु पनि एउटा कारण हो ।’

यस्तो समस्या एउटै पुस्ताले मात्र भोग्नुपरेको होइन । तर विज्ञहरूले यो मामिलामा ठुलो परिवर्तन देखिरहेका छन् ।

सान फ्रान्सिस्कोमा २० वर्ष सेक्स थेरपिस्टको रूपमा काम गर्दै आएकी सेलेस्ट हर्शम्यान भन्छिन्, ‘पहिला विवाहको १०–१५ वर्षपछि शारीरिक सम्बन्धमा कमी आउँथ्यो तर पछिल्लो समयमा तीनदेखि पाँच वर्षमा नै यस्तो भइरहेको छ ।’

यही कुरालाई अघि बढाउँदै विगत ३० वर्षदेखि सेक्स थेरपिस्टको रूपमा काम गरिरहेकी र क्यालिफोर्निया विश्वविद्यालयका मनोचिकित्सक सहायक प्राध्यापक किम्बर्ली एन्डरसन भन्छिन्, ‘३० वर्षअघि ५० वर्षभन्दा माथिका मानिस यस्तो समस्या लिएर म कहाँ आउने गर्दथे जसको उमेरसँग सम्बन्धित रोगहरू वा हर्मोनल परिवर्तनहरूका कारण यौन इच्छा कम हुन्थ्यो । तर आजकल ४५ वर्ष मुनिका जोडीको विवाह पनि यौनविहीन बन्दै गएको छ ।’

थुप्रै प्रकारका दबाब

अमेरिकाको किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ता जस्टिन लेहमिलर भन्छन्, ‘अत्यधिक तनावले यौन इच्छामा पनि गहिरो प्रभाव पार्छ र मिलेनियल्सले आफ्नो अघिल्लो पुस्ताको तुलनामा बढी तनावको सामना गरिरहेका छन् ।’

यी तनावका पनि धेरै कारण छन् । जस्तै कि बेलायतको काउन्सिलिङ नेटवर्क ‘रिलेट’ को सन् २०१८ मा गरिएको एक शोधमा भनिएको छ – ३० देखि ४० वर्ष बीचका उमेरका ६१ प्रतिशत मानिसले आफ्ना साना बच्चाको हेरविचारका कारण आफूहरूले यौन सम्पर्कका लागि समय नपाएको बताएका छन् । यस्तै ३१ प्रतिशतले बच्चा जन्मिएपछि उनीहरूको यौन इच्छा पूर्ण रूपमा नष्ट भएको स्वीकार गरेका छन् ।’

यसबाहेक मिलेनियल्समा करियरमा सफल हुन र आर्थिक रूपमा बलियो हुने दबाब पनि रहन्छ । कामको बोझका कारण पनि उनीहरुले तनावमा सामना गर्नुपर्छ ।

ग्लोबल कन्सल्टिङ कम्पनी ‘डेलाइट’ द्वारा पाँच देशमा गरिएको एक अध्ययन अनुसार ३८ प्रतिशत मिलेनियल भन्छन् कि उनीहरूमाथि कामको असाध्यै दबाब रहन्छ । यो तनाव झेल्नमा पुरुष (३६ %) को तुलनामा महिला (४१%) को सङ्ख्या बढी छ ।

जस्टिन लेहमिलर भन्छन्, ‘धेरैजसो मिलेनियलले आफ्नो करियरको सुरुवात मन्दीको समय (सन् २००८) मा गरेका थिए र अब उनीहरुले कोभिड महामारीको मार पनि झेल्नुपर्‍यो ।’

यस्तै अब प्रविधि पनि तीव्र रूपमा फेरिँदै छ । उनीहरुले पहिलेको भन्दा बढी मेहनत गर्नुपरिरहेको छ । उनीहरू वर्कोहोलिक भइसकेका छन् ।

धेरै काम गरेका कारण स्थिति यस्तो पैदा भइरहेको छ कि उनीहरू दिनको अन्त्यमा यौनको आनन्द लिनका लागि असाध्यै धेरै थाकिसकेका हुन्छन् ।

सोसल मिडिया र पोर्न

युवाहरूको यौन जीवनमा सामाजिक सञ्जाल र पोर्नको प्रभावलाई बेवास्ता गर्न सकिँदैन ।

विज्ञका अनुसार सोसल मिडियामा धेरै ब्युटी फिल्टरहरू छन् । यस्तो अवस्थामा वास्तविक जीवनमा कतिपय मानिसमा आफ्नो शरीर बारे हीन भावना जागृत हुन्छ ।

काउन्सिलिङ नेटवर्क ‘रिलेट’ ले गरेको सर्वेक्षणका अनुसार, कम यौन सम्पर्क गर्ने ३० वर्ष मुनिका ३७ प्रतिशत युवाहरूले आफ्नो शरीरलाई कमजोर महसुस गरेका छन् ।

यस्तै, न्युयोर्क सेक्स थेरापिस्ट स्टीफन स्नाइडर भन्छन्, ‘धेरैजसो मिलेनियल हुर्किरहेका बेला इन्टरनेटमा पोर्नको उपलब्धता बढिरहेको थियो । अहिले के देखिएको छ भने केही मानिसलाई वास्तवमा यौन सम्बन्ध स्थापित गर्नुको साटो पोर्न हेर्नमा बढी आनन्द महसुस गर्छन् ।’

समाधान के हो ?

तनावका कारणलाई जीवनबाट पूर्ण रूपमा हटाउन सकिँदैन, न त पोर्न न सोसल मिडियाको प्रभावलाई नै हटाउन सकिन्छ । त्यसो भए यी कारणले विवाहलाई यौनविहीन हुनबाट कसरी बचाउने ?

मनोवैज्ञानिक शिवानी मिश्री साधु भन्छिन्, ‘शारीरिक सम्बन्धमा पति–पत्नी दुवैको चाहना पूरा हुनुपर्छ र दुवैले सन्तुष्टि पाउन जरुरी छ । आपसी संवाद, विश्वास र एक अर्काको इच्छा र सीमाको ख्याल राख्नुपर्छ । सम्बन्ध कति पटक हुन्छ भन्ने भन्दा पनि तपाईं कस्तो सम्बन्धमा हुनुहुन्छ, त्यसमा आनन्द, आत्मीयता र खुसी छ कि छैन भन्ने हो ।’

विशेषज्ञका अनुसार राम्रो यौन जीवन त्यसलाई भन्न सकिन्छ जसमा संवाद, आनन्द, सन्तोष र सम्बन्धका लागि सम्पूर्णताको भाव होस् ।

सत्य यो हो कि शारीरिक सम्बन्धमा रुचिको कमी एक यस्तो विषय हो जसबारे मानिस आफ्नो पार्टनरसँग कुरा गर्न हिचकिचाउँछन् । तर विज्ञ यस्तो भएमा म्यारिज काउन्सलर वा सेक्स थेरपिस्टको सहयोग लिनुपर्ने सल्लाह दिन्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।