बाहिर गएर ठक्कर खाएँ, आफ्नै घरमा फर्किए : रमेश बस्नेत
काठमाडौं । नेकपा एमालेबाट बाहिरिनु भएको नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत अन्तः नेकपा एमालेमा नै फर्कनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा उहाँको जन्मस्थल रामेछापको सदरमुकाम मन्थलीमा आइतबार नेकपा एमाले जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा नेकपा एमाले केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत एमालेमा फर्कनु भएको हो । एमालेमा फर्किएसँग बस्नेतले आफू एमाले प्रवेश गरेको नभई आफ्नै घरमा फकिएको बताउनुभयो । ‘म एमालेमा प्रवेश गरेको होइन, केही असन्तुष्ट भएर घर छाडेर गएको थिएँ, बाहिर गएर हण्डर खाएँ, फेरी आफ्नै घरमा फर्किएँ’, बस्नेतले भन्नुभयो ।
बस्नेतलाई एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरूले बस्नेतलाई एमालेमा स्वागत गर्नुभएको थियो । मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत हुनुभएको बस्नेत एमाले विभाजित हुँदा पार्टी छाडेर माधव नेपालले नेतृत्व गर्नुभएको एकीकृत समाजवादीमा लाग्नु भएको थियो ।
माधव नेपाललेले नेतृत्व गरेको पार्टी नीति, विचार र सिद्धान्तमा अब्बल होला भन्ने लागेको भए पनि सो पार्टी र पार्टीका नेता माधव नेपाल नेपाली कांग्रेसको पिछलग्गु बन्नु भएको बस्नेतले बताउनुभयो । सो पार्टी र माधव नेपालबाट देशको हित हुन नसक्ने देखेर आफू एमालेमा नै फर्किएको उहाँले प्रष्ट पार्नुभयो । ‘माधव नेपालले अलि राम्रै गर्नु हुन्छ कि भन्ने लागेको थियो, अलिकति आवेशमा पनि आए, तर उहाँको गतिविधिले नेकपा एमालेलाई क्षत विक्षत बनाउने र कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने मात्र देखियो’, उहाँले भन्नुभयो ।
माधव नेपालको गतिविधिले एमालेलाई छेक्ने र कांग्रेस र माओवादीलाई सहयोग गर्ने काम मात्र भएको उहाँले बताउनुभयो । आफूलाई एमालेमा आउनबाट रोक्न कांग्रेस समेत लागेको बताउनुभयो । कुनै पनि हालतमा एमालेमा जानु हुँदैन भनेर आफूलाई बारम्बार नेपाली कांग्रेस रामेछापका सभापतिले समेत फोन गर्नुभएको उहाँले सुनाउनुभयो । ‘म एमालेको मान्छे, मलाई आफ्नो घरमा फर्कन खोज्दा किन कांग्रेसले छेक्नु पर्यो ? अझै पनि एमालेलाई छेक्न थुप्रै जाल, झेल र षडयन्त्र भइरहेका छन्’, उहाँले भन्नुभयो ।
नेकपा एमालेको विकल्प यो देशमा नभएको उहाँले बताउनुभयो । यो मुलुकलाई एमाले बाहेक अरूले हाँक्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
नेकपा एमालेमा आफू कुनै भाग भाग खोज्न नआएको बस्नेतले बताउनुभयो । बस्नेतले आफू पार्टीको सेवा गर्न पार्टीमा नै फर्किएको बताउँदै पार्टीले जे जिम्मेवारी दिन्छ त्यहीँ बसेर काम गर्ने बताउनुभयो । आफूले पार्टीमा कहाँ कुन जिम्मेवारीमा बसेर काम गर्ने भन्ने विषयमा अहिलेसम्म कसैसँग कुनै कुरा नगरको स्पष्ट पार्नुभयो ।


