एकै दिन दुवैले पाए ‘मोमेन्ट अफ द म्याच’ को पुरस्कार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–२० लिगमा नेपालका दुई स्टार सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका छन् । हिजोका म्याचमा दुवैले आ–आफ्नो टिमलाई जिताउन उच्च योगदान दिए ।

दीपेन्द्रको मोन्ट्रियल टाइगरले तीन खेलमा लगातार तेस्रो जित हात पारेको हो । पहिलो खेलमा दीपेन्द्रले ब्याटबाट सर्वाधिक २८ रन बनाउँदै टिमलाई जिततर्फ डोहोर्‍याएका थिए । उनले सो म्याचमा बलिङ गर्न भने पाएका थिएनन् ।

मोन्ट्रियलले कुन्नि के कारणले हो, दोस्रो म्याचमा दीपेन्द्रलाई बेञ्चमा राख्यो । उक्त म्याच पनि मोन्ट्रियलले जित्यो । हिजो राति भएको तेस्रो म्याचमा मोन्ट्रियलले दीपेन्द्रलाई फेरि प्लेइङ ११ मा फर्कायो । भान्कुभर नाइट्सविरुद्धको सो म्याचमा दीपेन्द्रले अलराउन्ड प्रदर्शन गर्दै टिमलाई ६ विकेटको जित हात पार्न मद्दत गरे ।

मोन्ट्रियलले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । भान्कुभरले १८ रनमा पहिलो विकेट गुमाएपछि दोस्रो विकेटका लागि बलियो साझेदारी गरिरहेको थियो ।

आठौँ ओभरमा मोन्ट्रियलका कप्तानले दीपेन्द्रको हातमा बल थमाए जतिबेला भान्कुभर ५२ रनमा एक विकेटको सहज अवस्थामा थियो । दीपेन्द्रले पहिलो ओभरमा चार रन मात्रै दिए । लगत्तैको ओभरमा अब्बास अफ्रिदीले १२ रन खाए ।

१० औँ ओभरको दोस्रो बलमा दीपेन्द्रले साझेदारी तोड्दै हर्ष ठाकरलाई उत्कृष्ट थ्रोमा रन आउट गर्न सफल भए । आफैँले फ्याकेको बलमा ठाकरले प्रहार गरेको कमजोर सटलाई तुरुन्त पक्रेर स्टम्पमा हिर्काएका थिए ।

यो ओभरमा दीपेन्द्रले एक चौकासहित सात रन खर्चिए । त्यसपछि फेरी चौथो विकेटका लागि फकार जामन र रसी भान डेर डसेनबीच आक्रामक साझेदारी भयो ।

विस्फोटक रूपमा खेलिरहेका फकारलाई दीपेन्द्रले नै आउट गरे, जुन खेलको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट थियो । ५३ बलमा ७३ रन बनाएका फकारलाई दीपेन्द्रले कार्लोस ब्रेथह्वाइटको हातबाट क्याच आउट गराएका थिए ।

तीन वटै ओभरमा राम्रो बलिङ गरे पनि दीपेन्द्रलाई कप्तान क्रिस लीनले चौथो ओभर बलिङ गराएनन् । समग्रमा दीपेन्द्रले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए भने एक रनआउट गराए ।

ब्याटिङमा पनि दीपेन्द्रको महत्त्वपूर्ण योगदान रह्यो । १५० रनको सामान्य स्कोर पछ्याइरहेको मोन्ट्रियल ६७ रनमा ४ विकेटको संवेदनशील स्थितिमा थियो, जतिबेला दीपेन्द्र क्रिजमा आए ।

एउटा इन्डबाट सर्फेन रदरफोल्डले उत्कृष्ट ब्याटिङ गरिरहेका थिए । उनलाई दीपेन्द्रले बलियो साथ दिए । उनीहरुबीच ८४ रनको म्याचविनिङ पार्टनरसीप भयो । रदरफोर्ड ८४ रनमा र दीपेन्द्र २२ रनमा अविजित रहे ।

बलिङ ब्याटिङ र फिल्डिङ तीनै पक्षबाट महत्त्वपूर्ण योगदान दिए पनि दीपेन्द्रले प्लेयर अफ द म्याचको अवार्ड भने पाएनन् । रदरफोर्ड प्लेयर अफ म्याच बन्दा दीपेन्द्रको भागमा मोमेन्ट अफ म्याचको पुरस्कार पर्‍यो, जसको राशी ५०० डलर रहेको छ ।

हिजैको म्याचमा नेपालका अर्का स्टार सन्दीप लामिछानेले पनि मोमेन्ट अफ द म्याचको पुरस्कार पाएका थिए । यो पुरस्कार उनले दोस्रो पटक पाएका हुन् । पहिलो म्याचमा पनि उनले मेमेन्ट अफ द म्याच पुरस्कार पाएका थिए ।

सन्दीपको टिम सर्रे जगुअर्सले पहिलो जित दर्ता गर्यो । टोरन्टो नेसनल्सविरुद्ध २० रनको जित हात पार्दा सर्रेका लागि सन्दीपले फेरि उत्कृष्ट बलिङ गरे ।

टोरन्टोले टस जितेर सर्रेलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । १८ ओभरमा छोट्याइएको खेलमा सर्रेले ६ विकेटको क्षतिमा १४१ रन जोड्न सक्यो । सन्दीपले ब्याटिङको मौका पाएनन् ।

म्याथु फोर्डले ४ र सन्दीपले दुई विकेट लिएपछि टोरन्टोले निर्धारित १८ ओभरमा १२१ रन मात्रै जोड्न सक्यो । सन्दीपले सबैभन्दा मितव्ययी बलिङ गर्दै महत्त्वपूर्ण दुई विकेट लिएका थिए ।

उनले एकै ओभरमा कोलिन मुनरो र अरमान कपुरलाई आउट गरेपछि टोरन्टो संकटमा परेको थियो । समग्रमा सन्दीपले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।