विश्वभरि असर पार्ने आन्द्र महासागरको ‘ओसन करेन्ट’ चाँडै बन्द हुनसक्छ
एजेन्सी/एउटा नयाँ अध्ययनले आन्द्र महासागरमा बहने ओसन करेन्ट यसअघि सोचिएको भन्दा निकै चाँडो बन्द हुनसक्ने औंल्याएको छ।
हिजो (मंगलबार) नेचर जर्नलमा छापिएको ‘वार्मिङ अफ अ फोर्थकमिङ कोल्याप्स अफ द एटलान्टिक मेरिडिओनल ओभरटर्निङ सर्कुलेसन’को लेखमा सन् २०२५ मै आन्द्र महासागरको ओसन करेन्ट बन्द हुनसक्ने उल्लेख गरिएको सिएनएनले जनाएको छ।
एटलान्टिक मेरिडिओनल ओभरटर्निङ करेन्ट (एएमओसी) आन्द्र महासागरको पानीको एउटा प्रणाली हो। जसले विश्वकै मौसम र जलवायु मा प्रभाव राख्छ।
समुद्रको पानी भूमध्य रेखाको आसपासमा तातिएको हुन्छ। तातिएको पानी उत्तर र दक्षिणतिरका ध्रुवमा बगिरहेको हुन्छ। ध्रुवको नजिकमा पुगेको पानी चिसो हुन्छ र नुनिलो मात्रा थपिँदा पानीको घनत्व बढ्छ। चिसो पानी गहिराइमा जान्छ। डिप सीमा पुगेको पानी दक्षिणतिर सर्छ। तातिएको पानी ध्रुवतिर बग्ने प्रक्रिया वार्म करेन्ट भनिन्छ भने चिसिएको पानी भूमध्य रेखातिर जाने प्रक्रियालाई कोल्ड करेन्ट भनिन्छ। यो क्रम निरन्तर चलिरहन्छ। यिनै करेन्टका कारण पृथ्वीको सतहको जलवायुमा असर परिरहेको हुन्छ।
आन्द्र महासागरको एएमओसीले त्रिकोणात्मक विशाल कन्भेयर बेल्टको रूपमा काम गर्छ। यसले उष्ण क्षेत्रबाट तातो पानीलाई उत्तर एटलान्टिकतिर लैजान्छ। ध्रुवतिर गएको पानी चिसो हुन्छ र धेरै नुनिलो हुन्छ। त्यसपछि यो गहिराइमा डुब्छ र दक्षिणतिर फैलिन्छ।
यो प्रक्रिया पानीको तापक्रम र नुनिलोको मात्राको सन्तुलनमा अडिएको हुन्छ।
एएमओसी बन्द हुँदा हिउँद निकै चिसो हुने र समुद्रको सतह बढेर युरोप र अमेरिकाका धेरै ठाउँमा असर पार्ने र उष्ण क्षेत्रको मनसुनमा व्यापक परिवर्तन हुन सक्छ।
जलवायु संकट बढ्दै जाँदा समुद्रको तापक्रम र नुनिलोपनको मात्रा फरक पर्ने भएकाले एएमओसीमा असर पर्ने चेतावनी वैज्ञानिकहरूले पहिलादेखि नै दिइरहेका थिए।
समुद्रको तापक्रम बढ्ने र हिउँ पग्लिने भयो भने समुद्रमा स्वच्छ पानीको मात्रा धेरै हुन्छ। त्यसले पानीको घनत्व कम गर्छ र पानी धेरै तलसम्म पुग्दैन। समुद्रको पानी जति धेरै स्वच्छ हुन्छ वा तातो हुन्छ त्यसले एएमओसीको कन्भेयोर बेल्ट बन्द हुन सक्छ।
सुरूमा वैज्ञानिकहरूले यो शताब्दीको अन्त्यतिर एएमओसी बन्द हुन सक्ने औंल्याएका थिए। तर पछिल्लो अनुसन्धानले विश्व तापमान बढाउने मानवीय गतिविधि बढ्दै जाने हो भने दुई वर्षपछि अर्थात् सन् २०२५ मा नै एएमओसी बन्द हुन सक्ने उल्लेख गरिएको छ।


