हाडनाता सम्बन्धको असरबारे बोल्दा अधिवक्ता शीतल पाण्डेविरुद्ध जाहेरी, संसदमै पुग्यो विवाद

काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ ले एक टेलिभिजनलाई दिएको अन्तरवार्ता अहिले तामाङ समुदायभित्र निकै आलोचित बनिरहेको छ । केही तामाङ अगुवाले उनीविरुद्ध जाहेरी दिएका छन् भने संसदमा पनि दुई महिला सांसदले उनीमाथि कारबाही माग गरे ।

हिजो भएको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सुशीला थिङ र एमाले सांसद ईश्वरी घर्ती मगरले अधिवक्ता पाण्डेमाथि कारबाही गरिनुपर्ने आवाज उठाएका थिए । अधिवक्ता पाण्डेले तामाङ, मगर लगायत समुदायको आत्मसम्मानमा चोट पुगेको अधिवक्ता थिङको भनाइ थियो । उनको अभिव्यक्तिले आफ्नो मन सुन काण्डले भन्दा ज्यादा पोलेको थिङले बताइन् ।उनले थपिन्, ‘म यो हाउसमा बस्दै गर्दा म कति क्रिमिनल समुदायको माननीय हुँला भन्ने कुराले एकदमै चिन्ता लागेको छ ।’

उनले टेलिभिजन कार्यक्रम सञ्चालक दिक्पाल कार्की र अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गरिनुपर्ने बताइन् ।

त्यस्तै सांसद घर्ती मगरले पाण्डेले पाण्डेको अभिव्यक्तिले आफ्नो समुदायमा गम्भीर आघात पुगेको बताइन् । मगरले भनिन्, ‘उनको अधिवक्ताको लाइसेन्स खारेज गरेर कानूनी कारबाही गराउन माग गर्दछु ।’

के भनेकी थिइन् अधिवक्ता पाण्डेले ?
प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘मुस्लिम, मगर, तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुँदो रहेछ । यस्तो विवाहले जीनमा खराबी उत्पन्न गर्छ । नजिकको सम्बन्ध पशुमा पनि बारिन्छ ।’

जीनको पनि आपराधिक कर्ममा भूमिका हुने भएकाले अहिले चलिआएको कानून सुधार्न आवश्यक रहेको उनले औँल्याएकी थिइन् ।

नेपालको कानूनले हाडनाता सम्बन्ध वर्जित गरे पनि प्रथा र परम्पराअनुसार चलिआएको समुदायमा छुट दिइएको पाण्डेको भनाइ थियो ।

उन भनेकी छन्, ‘क्रिमिनल लमा क्राइम कसरी बढ्छ भन्दा कहिलेकाहीँ जीनका कारण पनि आपराधिक क्रियाकलाप भइरहेको हुन्छ भनिन्छ । यो अध्ययनको विषय पनि हो । कुनै समुदायमा दाजु बहिनीमा विवाह हुँदा कट्टरवादी, एक लाइनको सोच्ने जिनको विकास हुँदो रहेछ ।’विवादमा परेपछि पाण्डेको अन्तरवार्ता युट्युबबाट हटाइएको छ ।

तामाङ, मगर समुदाय आन्दोलित, जाहेरी दर्ता
अधिवक्ता पाण्डेको अभिव्यक्तिले आफूहरूको आत्मसम्मानमा ठेस पुगेको भन्दै नेपाल तामाङ घेदुङले जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दरखास्त दिएको छ ।

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको भन्दै जाहेरी दर्ता भएको हो । जाहेरीमा पाण्डेसँगै कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र कार्यक्रम प्रशारण गर्ने टेलिभिजन प्राइम टाइम टिभीलाई विपक्षी बनाइएको छ ।

अधिवक्ता पाण्डेको अन्तर्वार्ता सार्वजनिक भएपछि आन्दोलित बनेको तामाङ, मगर समुदायका विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरिनुपर्ने बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै नेपाल मगर संघले भनेको छ, ‘मगर समुदायमा मामाकी छोरीलाई साली र फुपूको छोरालाई भेना भनिन्छ । मामा चेली, फुपू चेलाबीचको साइनो कुनै समुदायमा दाजु बहिनी होला, तर मगर जातिमा सालीभेना नाता हुन्छ र विवाह पनि गरिन्छ । यदि यो सम्बन्धमा विवाह गर्नै हुन्न भन्न खोजिएको हो भने पनि बहु जातीय, बहु धार्मिक देशमा भएको विविधताको घोर अपमान गरिएको छ ।’

विज्ञप्तिमा टेलिभिजनबाट अन्तरवार्ता हटाइनुपर्ने तथा अधिवक्ता पाण्डेले माफी माग्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै विभेदकारी कानुन खारेजी संघर्ष समितिका संयोजक मुक्तान थेवाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सिंगो समुदायलाई नै अपराधी उत्पादन गर्ने आपराधिक समुदायको रुपमा तामाङ, मगर समुदायलाई व्याख्या गरेकी छन्, जुन अधिवक्ता पाण्डेको अमानवीय र आपराधिक मनोविज्ञानको उपज हो । उक्त अभिव्यक्तिलाई मुस्लिम, मगर र तामाङ समुदायको आत्मसम्मान र संस्कृतिबारे जनमानसमा बिल्कुल गलत र भ्रामक सूचना एवं सन्देश प्रवाह भएको छ ।’

अधिवक्ता पाण्डेले कुनै समुदायलाई चोट पुग्ने गरी बोल्ने आफ्नो नियत नभएको भन्दै सार्वजनिक रूपमा माफी पनि मागिसकेकी छन् । तर, माफीले नपुग्ने भन्दै जाहेरी दर्ता गरिएको हो ।

अधिवक्ता पाण्डे भन्छिन्: उहाँहरूले गलत बुझ्नुभयो’
नेपाल प्रेससँगको कुराकानीमा अधिवक्ता पाण्डेले आफ्नो भनाइलाई गलत बुझिएको बताइन् । पूरा भिडियो नहेरीकन थोरै क्लिपका आधारमा धारणा बनाइएको उनको गुनासो छ ।

पाण्डेले भनिन्, ‘समाजमा अपराध कसरी हुन्छ भन्ने कुरामा अपराध हुने कुराहरूको आयामबारे बोलेकी थिएँ । कोही आर्थिक अभाव परिपूर्ति गर्नका लागि त कोही आफू वरिपरिका परिस्थितिका कारण पनि आपराधिक क्रियाकलापमा उद्दत हुने गर्छन् । त्यसमा जेनेटिक कुराले पनि अर्थ राख्छ भनेकी थिएँ ।’

वैज्ञानिक तवरबाट हेर्दा जीनले पनि मान्छेको स्वभाव, आचरणमा असर गर्न सक्ने पाण्डेको भनाइ छ । त्यसले आपराधिक क्रियाकलापमा पनि काम गर्न सक्ने भनेर अपराध शास्त्रका विद्धानले नै भनेको पाण्डेले बताइन् ।

उनले भनिन्, ‘कुनै कुनै समुदायमा नजिककाबीच शारीरिक सम्बन्ध हुँदा हाडनाता करणीको कानून आकर्षित हुन्छ । तर, त्यही कानुनमा तलपट्टि आफ्नो जातजातीमा चलिआएको परम्परामा त्यो लागू नहुने उल्लेख छ । यस हिसाबले कानूनमा पनि कमीकमजोरी छ । पशुहरुमा समेत नजिकको सम्बन्धमा ब्रिडिङ बार्ने गरिन्छ ।’

आफूले कुनै जातजातिलाई नराम्रो भन्ने सेन्सले उक्त अभिव्यक्ति नदिएको पाण्डेले बताइन् ।
उनले नजिकको सम्बन्धमा हुने विवाह प्रथाजस्तै भएको बताउँदै थपिन्, ‘देउती प्रथा पनि कानूनी रूपमा थियो । छुवाछुत प्रथा पनि कुनै समय कानूनी रूपमा थियो । त्यस्ता प्रथाले समाजलाई आघात पुर्‍याउने भएकाले संशोधन गरियो । त्यस्तै अन्य प्रथाहरू अहिले पनि छन्, जसले समाजमा अराजकता फैलाउँछ । त्यस्ता प्रथालाई पनि हटाउँदा राम्रो हुन्छ मेरो विचारमा । फुपू चेला, मामा चेली भन्नु पनि हाडनाता नै हो, यो प्रथा जस्तै हो । यसलाई परिवर्तन गर्दै लैजानुपर्छ ।’

अपराध मान्छेले अनेक कारणले गर्ने भएकाले अपराधको मनोविज्ञानतिर सबैले ध्यान दिनुपर्ने र अपराधलाई कम गराउन सबैले कोसिस गर्नुपर्ने उनको भनाइ छ ।

‘टिभीमा निश्चित समय हुन्छ, उक्त समयभित्र कार्यक्रम सकाउनुपर्ने हुन्छ । मैले फुपू चेला, मामा चेलीबीचको सम्बन्धबारे बोलेको थिएँ । तर, त्यही कारण मान्छेले अपराध गर्छन् भन्ने मेरो आशय थिएन,’ पाण्डेले भनिन्, ‘तर, नजिकको सम्बन्धमा विवाह हुँदा जेनेटिक समस्या आउँछन् । जीनमा डिफिसियन्सी आउँछ । यसलाई चिकित्साले पनि वर्जित गर्छ । उनीहरूबाट जन्मिएको बच्चामा पनि डिफिसियन्सी आउँछ ।’nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।