सुन तस्करीमा रवि लामिछानेको प्रश्न : भरिया समाउन सक्नेले किन मालिकसम्म पुग्न नसकेको ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सो पार्टीका नेता माथि नियोजित आक्रमण सुरु भएको बताउनुभएको छ ।
आफूबाट सुरु भएको आक्रमण रास्वपाका नेताहरू माथि पनि ताकिएको बताउनुभयो । रास्वपा भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले जस्तासुकै आक्रमण भए पनि रास्वपा विचलित नहुने बताउनुभयो ।
सिद्धान्तको भारीले थिचिने दल रास्वपा नभएको उहाँले बताउनुभयो । आफ्नो पार्टीका कार्यकर्तालाई अर्को चुनाव चिन्हमा भोट हाल्ने सिद्धान्त रास्वपालाई नचाहिने उहाँले प्रष्ट पार्नुभयो ।
लामिछानेले सरकालाई सुरु गरेका कामको जरोसम्म पुग्न पनि आग्रह गर्नुभयो । कुनै काम सुरु गर्ने र बिचमा नै अड्किने कुर रास्वपालाई मान्य नहुने उहाँले स्पष्ट पार्नुभयो । ‘सुरुवात गर्दै छाड्दै, गिजोल्दै छाड्दै गर्ने काम सरकारले नगरोस्, हामीले चेतावनी दिइरहेका छौँ’, उहाँले भन्नुभयो ।
सुन तस्करी काण्डमा सरकारले चित्तबुझ्दो जवाफ दिनु पर्ने उहाँले बताउनुभयो । सरकारले चित्तबुझ्दो जवाफ दिएन भने त्यसको प्रतिवाद गरिने उहाँले बताउनुभयो ।
भारी बोकेको ट्याक्सी बाटोमा फेरा परारेपछि किन मालिकसम्म पुग्न नसकेको ? भन्दै उहाँले सरकारसँग प्रश्न गर्नुभयो । सो सुनको बारेमा जसले सूचना दियो ऊसँग सुन बाटोमा पुग्दै छ है भन्ने मात्र सूचना नहुने उहाँले दाबी गर्नुभयो । ‘भरिया समाउन सक्नेले मालिकसम्म किन पुग्न सकेन होला ? हामी मालिक कुरेर बसेका छौँ’, उहाँले भन्नुभयो ।
सुन काण्डको मानिस सानो मानिस नभएको उहाँले बताउनुभयो । मालिक ठुलै मान्छे भएको कारण सरकार यसलाई विषयान्तर गर्न अब अर्को फाइल खोल्न लाग्ने हो कि ? भन्दै उहाँले आशंका गर्नुभयो । नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी लगायतका प्रकरणका फाइल खोल्ने तर अन्तिम पानासम्म नपुग्ने कुरा रास्वपालाई मान्य नहुने उहाँले चेतावनी दिनुभयो ।


