भोजपुरमा डेङ्गु रोगीको सङ्ख्या बढदै, ३६ सङ्क्रमित देखिए

टक्सार (भोजपुर), (रासस) : पूर्वी पहाडी जिल्ला भोजपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।

जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेङ्गुबाट भोजपुरमा ३६ जना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी भोजपुर नगरपालिकामा २७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा छ, टेम्केमैयुङ गाउँपालिकामा दुई र रामप्रसाद राई गाउँपालिकामा एकजना डेङ्गुबाट सङ्क्रमित छन् ।

जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका रहेका छन् । पौवादुङ गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकामा विषादी वितरण गरिएको छ भने अन्य पालिकाहरूलाई परीक्षणका लागि किटहरूसमेत वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । पालिकाभित्र दुई जनामा सङ्क्रमण देखिएपछि विषादी छर्कने कार्य थालिएको टेम्कमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

क्रमिकरूपमा सङ्क्रमणको दर बढिरहँदा उपचार र सचेतनामा पहुँच भने बढाउनुपर्ने जिल्लावासीको माग छ । डेङ्गु नियन्त्रणका लागि अझै प्रभावकारी कार्यक्रमहरू जिल्लामा सञ्चालन हुन नसकेको सामाजिक अभियानकर्मी घमचन्द्र दाहालले बताउनुभयो । “सचेतनासहित रोग नियन्त्रण गर्ने जिम्मा सरकारको हो, जिल्ला तहको सरकार भनेको स्थानीय पालिकाहरू हुन्, यिनीहरूको भूमिका प्रभावकारी हुनुपर्छ”, उहाँले भन्नुभयो । पर्याप्त किटको व्यवस्थापन गरी परीक्षणको दायरासमेत बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

स्थानीय तहमा कार्यरत स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिमा कमी हुनु र स्वास्थ्य कार्यक्रम सञ्चालनका क्रममा विभिन्न निकायबीच देखिने गरेका दोहोरोपन तथा अस्पष्टता, तीन तहका सरकार बीचको अधिकार, कर्तव्य र जिम्मेवारीबारे समझदारी, समन्वय तथा सहकार्यको कमी जस्ता कारणले पनि स्वास्थ्य सेवाहरू प्रभावकारी बन्न नसकेको नागरिकको बुझाइ छ ।

स्वास्थ्य समस्याहरू समाधानका लागि स्थानीय तहहरूको भूमिका प्रमुख हुने बताउँदै स्थानीय युवा ज्योति पौडेलले भन्नुभयो, “स्थानीय तहहरूले प्रभावकारी ढङ्गबाट रोकथाम तथा सचेतनामूलका कार्यक्रमहरू गर्न आवश्यक छ ।”

समुदायस्तरका स्वास्थ्य संस्थाहरूले जनताको प्रत्यक्ष सहभागितामा सरसफाइ, नागरिकका स्वास्थ्य जीवनशैली, रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा बढी समय र प्राथमिकता दिनुपर्ने औषधि व्यवसायी शान्तिराम रोकाले बताउनुभयो । “लामखुट्टेको प्रभावकारी व्यवस्थापनका साथै सङ्क्रमित व्यक्तिको यथासम्भव चाँडो उपचार तथा व्यवस्थापनमा जुट्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

राज्यका निकायहरू, नागरिक समाज र आमजनताले चासो लिई यो रोगको नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने भोजपुर नगरपालिका–१० का स्थानीय डा चक्रबहादुर कार्कीको भनाइ छ । उहाँले भन्नुभयो, “डेङ्गु के हो र यो कसरी फैलिन्छ र यसको रोकथाम कसरी हुन्छ भन्ने चेतना जनस्तरमा हुन आवश्यक छ, प्रत्येक व्यक्तिलाई टोल र समाजमा डेङ्गुको स्रोत के भन्ने चेतना हुन उत्तिकै जरुरी छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।