रिसाहा बच्चालाई नकुट्नुहोस्, प्रेमले सम्झाउनुहोस् : शान्त पार्न ६ तरिका अपनाउनुहोस्
आजकाल धेरै आमाबुवाले ‘मेरो बच्चा साह्रै रिसाउने भएको छ’ भनेको सुन्न सकिन्छ । हो, बच्चाहरू पछिल्लो समयमा हरेक कुरामा चिडचिडे हुन्छन् । राम्रोसँग कुरा गर्न पनि चाहँदैनन् । यति मात्रै होइन, कुनै कुरा अस्वीकार गर्दा उनको पहिलो प्रतिक्रिया घुर्नु वा ठुलो आवाजमा चिच्याउनु हो । वास्तवमा यस्तो समस्या बच्चाको होइन ।
मनोवैज्ञानिकहरू विश्वास गर्छन् कि आमाबाबुको शैलीको कारणले गर्दा पनि बच्चाले आफ्नै भावनासँग सामना गर्न सिक्न सक्दैनन् । यस्तो अवस्थामा बालबालिकालाई शान्त पार्न अभिभावकले उनीहरूलाई गुनासो गर्नुको सट्टा उनीहरूको भावना बुझ्न र रिससँग सामना गर्न मद्दत गर्नुपर्छ । यहाँ हामी तपाईंलाई तपाईंका बच्चाको रिस शान्त गर्नका लागि कस्तो तरिका अपनाउने भनेर जानकारी दिँदै छौँ ।
भावनालाई स्विकार्नुहोस्
पेरेन्ट्स वेबसाइटका अनुसार यदि तपाईंको बच्चा कुनै कुरामा रिसाएको छ भने, उसको भावनालाई बेवास्ता गर्ने प्रयास नगर्नुहोस् । तपाईंले उसलाई ‘हो, मलाई थाहा छ कि तिमी पार्कबाट आउन चाहेका थिएनौ, त्यसैले थोरै रिसाएको छौ ।’ अथवा तपाईंले भन्न सक्नुहुन्छ कि ‘केही छैन, तिमी रिसाउन सक्छौ ।’ उनीहरूलाई कहिल्यै पनि आफ्नो भावनामाथि नियन्त्रण गर्न नलगाउनुहोस् ।
आफ्नो कुरा भन्न उत्प्रेरित गर्नुहोस्
जब बच्चा शान्त हुन्छ, तपाईंले उसलाई भन्नुहोस् कि ‘यदि तिमी कुनै कुरामा रिसाएको छौ भने के कुरामा रिसाएको छौ भन ।’ बच्चाले नभनेसम्म के कुरामा रिसाएको हो भनेर कसरी थाहा हुन्छ भन्ने कुरा बुझाउनुहोस् । वास्तवमा, बच्चालाई यो थाहा हुँदैन कि रिसाउँदा आफ्नो कुरा कसरी भन्ने । यसै कारण उनीहरूलाई थप तनाव हुन्छ ।
एक्लै राखेर कुरा गर्नुहोस्
बच्चासँग कुरा गर्नु छ भने उनीहरूलाई जता पनि जे पनि नभन्नुहोस् । पाँच वर्षको भएपछि बच्चामा इगो विकास हुन्छ । यस्तोमा उनीहरूलाई मानिसको बीचमा गाली गर्दा नराम्रो लाग्न सक्छ । त्यसैले बच्चालाई केही भन्नु छ भने उसलाई एक्लै राखेर भन्नुहोस् ।
सहयोग चाहिन्छ ? भनेर सोध्नुहोस्
बच्चा कुनै कुरामा रिसाएको छ वा दुःखी छ भने उसलाई मद्दतका लागि सोध्नुहोस् । यसो गर्दा बच्चाले तपाईंलाई विश्वासको पात्रको रूपमा हेर्नेछ जसका कारण तनाव र रिस आफैँ निस्कन्छ । बच्चालाई तपाईंले सधैँ उसलाई मद्दत गर्नुहुन्छ भन्ने महसुस गराउनुहोस् ।
एक्लै नछोड्नुहोस्
तपाईंले बच्चालाई शान्त नभएसम्म उसलाई एक्लै छोड्न नसक्ने बताउनुहोस् । यसो भन्दा उसले आफूलाई छिटो शान्त पार्छ र आफ्नो कुरा भन्न सक्नेछ ।
प्रेम महसुस गराउनुहोस्
बच्चा रिसाएका बेला उनीहरूलाई मन पर्ने कुरा भन्नुहोस् । उदाहरणका लागि तपाईंले यसो भन्न सक्नुहुन्छ – तिमी रिसायौ भने मलाई दुःख लाग्छ । तपाईंले प्रेमपूर्वक उसलाई अँगालो हाल्नुहोस् र राम्रो कुरा बोल्नुहोस् । उसले राहत महसुस गर्नेछ ।


