महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोकेर मृत्यु
काठमाडौं : बैतडीमा महिनावारी हुँदा गोठमा सुतेकी एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ। तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको डसाबाट मृत्यु भएको पञ्चेश्वर–४ का वडाध्यक्ष जनक बहादुर चन्दले बताए।
अनिता महिनावारी भएको मंगलबार ४ दिन पुगेको थियो । ४ दिनदेखि उनी गाई–भैँसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्। अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा पढ्थिन्।
उनको घर गाउँपालिकाको केन्द्रबाट २०० मिटर मात्रै टाढा छ। गएराति सर्पले डसेपछि परिवारका सदस्य वैद्यलाई बोलाउन जाँदा उपचार नपाएर उनको मृत्यु भएको थियो ।


