विदेश मोहले ठगिने बढे

काठमाडौँ । प्रतिष्ठित कम्पनीमा कम्तीमा एक लाख रुपियाँ पाउने प्रलोभन देखाएर गिरीले पीडित राजकुमार (नाम परिवर्तन)सँग दुई लाख रुपियाँ लिएर सम्पर्कबिहीन बने । यस्तैमा वैदेशिक रोजगारीमा साइप्रस पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सिन्धुली सुनकोशी–३ का राजन गिरीलाई काठमाडौँबाट पक्राउ गर्यो ।

गैरकानुनी बाटोबाटै साइप्रस पुग्ने सपना बोकेका राजकुमारलाई साइप्रस जान के के आवश्यक कागजपत्र चाहिन्छ भन्नेसम्म पत्तो छैन । यति मात्र होइन साइप्रस, क्रोएसिया र पोल्यान्डमा मासिक दुई लाख रुपियाँभन्दा बढी आम्दानी हुने काममा लगाइदिने प्रभोलनमा परी तीन जना युवासँग जनही छदेखि आठ लाख रुपियाँसम्म असुल गरियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घटनामा संलग्न सुनसरी बराहक्षेत्र–७ का मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी–५ का अनन्त प्रकाश श्रेष्ठ र उदयपुर ताप्ली–४ का प्रचलन राईलाई यही साउन ११ गते नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीले श्रेष्ठलाई काठमाडौँ जोरपाटीबाट, मग्रातीलाई काँडाघारीबाट र राईलाई ललितपुरको नखिपोटबाट नियन्त्रणमा लिएको हो।

अर्को घटनामा माल्टामा मासिक दुई लाख रुपियाँको जागिर लगाइदिने प्रलोभन देखाएर पीडितसँग नौ लाख रकम ठगी गरी फरार रहेका मुगु छायानाथ रारा–३ का प्रवीन खड्का गत जेठ २८ गते कुलेश्वरबाट पक्राउ परे। सोही दिन उदयपुर चौदण्डीगढी–७, बेलटारकी सुनिता न्यौपाने श्रेष्ठलाई प्रहरीले पुल्चोकबाट पक्राउ गर्यो। अमेरिका पठाएर मोबाइल सफ्टवेयर कम्पनीमा मासिक तीन लाख रुपियाँ आम्दानी हुने जागिर लगाइदिने प्रलोभन देखाएर सुनिताले पीडितसँग छ लाख २१ हजार रुपियाँ ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यी केही प्रतिनिधि घटना मात्र हुन्। वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने घटना पछिल्लो समय बढेका छन्। काठमाडौँ उपत्यकामा मात्र एक वर्षमा वैदेशिक रोजगारीका नाममा ठगी गर्ने २२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी ८१ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा ६४ पुरुष र १६ जना महिला छन्। अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका ८१ जनाविरुद्ध २२ करोड २२ लाख ८७ हजार बिगो माग गरी अदालतमा मुद्दा दर्ता गरेको छ।

अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यका बाहिरबाट थप छ जना पुरुष र एक महिलालाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ। वैदेशिक रोजगारका नाममा ठगीका घटना बढ्न थालेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान र कारबाहीलाई तीव्रता दिन वैदेशिक रोजगारी ठगी अनुसन्धानका लागि एकाइ नै खडा गरेको छ।

अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा। मनोज केसीले वैदेशिक रोजगारी ठगीमा विभिन्न समूहमा गिरोह सक्रिय रहेकाले सो एकाइले उनीहरूमा निगरानी बढाएको जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।