भोजपुरको टेम्केमैयुङमा नयाँ घर पाउँदा विपन्न दलित परिवार खुसी

भोजपुर (रासस) : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा १० विपन्न दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अवस्था कमजोर हुँदा घर बनाउन नसकेर टहरामा बस्दै आएका विपन्न परिवारले घर पाएका हुन् ।

गरिबीका कारण वर्षौंदेखि टहरामा पालमुनि बस्दै आएका परिवारको पहिचान गरेर घर निर्माण गरिएको हो । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष नभराज माङपाहाङले जानकारी दिनुभयो ।

एक परिवार बराबर रु तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको वडाध्यक्ष माङपाहाङको भनाइ छ । गरिब तथा विपन्न दलित परिवारको घर निर्माणले उनीहरूलाई सहजता भएको उहाँले बताउनुभयो ।

“सरकारको जनता आवास कार्यक्रममार्फत हाम्रो वडाका १० दलित परिवारले नयाँ घर पाएका छन्”, उहाँले भन्नुभयो, “घर बनाउने क्षमता नहुँदा वर्षौंदेखि कष्टकर जीवन बिताउँदै आएको अवस्था थियो । आर्थिक अवस्था कमजोर भएकाले घर निर्माणका लागि सिफारिस गरेको हौँ ।”

राज्यबाट आएको बजेटबाट आवश्यक मापदण्डअनुसारको घर निर्माण भएको उहाँको भनाइ छ । राज्यले पनि गाँस, बास कपासलाई नागरिकको मौलिक हकमा राखेकाले सहज बसोबासका लागि वडाले पहल गरेको वडाध्यक्ष माङपाहाङले बताउनुभयो । “गरिबीका कारण धेरै परिवारको अवस्था दयनीय छ”, उहाँले भन्नुभयो, “खुला आकासमुनि दिनरात कटाउने अवस्थामा घर पाउँदा उहाँहरूको दैनिकी फेरिएको छ ।” सो रकमबाट अनिवार्यरूपमा शौचालय निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

शौचालय निर्माण नगर्ने परिवारले रु ३६ हजार नपाउने वडाध्यक्ष माङपाहाङले बताउनुभयो । हाल बनेको घरले सबै विपन्न परिवारलाई नसमेटिएकाले आगामी दिनमा पनि घर निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने उहाँको भनाइ थियो ।

कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताउनुभयो । टहरामा त्रिपाल हालेर वर्षौं कटाएको अवस्थामा घर पाउँदा हर्षित बनेको उहाँको भनाइ छ । “गरिबीका कारण घर बनाउन नसक्दा पुस्तौँबाट टहरामा त्रिपाल टागेर बसेका थियौँ”, उहाँले भन्नुभयो, “जीवन निकै कष्टकर बनेको थियो । बर्सात तथा जाडोका समयमा जीवन धेरै नै कष्टकर थियो । घर बनेपछि हामीलाई सहज भएको छ ।”

खुला आकाश तथा गोठ, टहरामा जीवन कटाउँदै आएको अवस्थामा घर पाउँदा दैनिकी फेरिएको स्थानीय फूलमाया विश्वकर्माले बताउनुभयो । घर बनेपछि धेरै सहजता भएको उहाँको भनाइ छ । “घर बनेसँगै अहिले दैनिकी नै फेरिएको छ”, उहाँले भन्नुभयो, “गरिबीका कारण जीवन निकै कष्टकर थियो । घर बनाएर बस्नसक्ने अवस्था थिएन । राम्रो आम्दानीको स्रोत नहुँदा दैनिक ज्यालादारी गर्नुपर्ने अवस्था छ । सरकारले घर बनाइदिएपछि जीवन गुजारा गर्न सहज बनेको छ । घर पाउँदा निकै खुसी लागेको छ ।”

घर नहुँदा चिसोका कारण दैनिकजसो बालबच्चा बिरामी हुने गरेको भए पनि अब त्यस्तो समस्याको अन्त्य भएको विश्वकर्माले बताउनुभयो । त्योसँगै बालबालिकालाई पठनपाठनमा समेत सहजता भएको उहाँको भनाइ छ ।

“हिउँद तथा बर्सातका समयमा बालबच्चालाई रोगबाट जोगाउन नै गाह्रो हुन्थ्यो”, खुसी हुँदै उहाँले भन्नुभयो, ‘‘ढिलै भए पनि राज्यले हाम्रो दुःख देख्यो । मजस्ता धेरै दलित परिवारले घर पाएका छौँ । राज्य हाम्रो सहारा बन्यो ।”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।