सहयोगको याचनासहित विश्वराज छटपटाइरहे, भिड फोटो खिच्दै रमिते बनिरह्यो

काठमाडौ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ७ स्थित १६ किलोमा मंगलबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा देखिएको हृदयविदारक तस्बिर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । बस र मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भई खुट्टाबाट सडक नै रगताम्मे हुने गरी रक्तस्राव भइरहेका दोलखा बैतेश्वर गाउँपालिका– ७ का २३ वर्षीय विश्वराज श्रेष्ठ दुर्घटना भएकै सडकमा झन्डै आधा घन्टा दुई हात टेकेर रुँदै सहयोगको याचना गरिरहेका थिए । तर, घटनास्थलमा उभिएको भिडले उनको उद्धारमा चासो गरेन, उल्टै केही मानिस त्यो हृदयविदारक तस्बिर र भिडियो खिच्न लागिरहेको देखिन्छ ।

दुर्घटना भएको झन्डै आधा घन्टापछि प्रहरी चौकी लिसंखुपाखरका प्रहरी सहायक निरीक्षक नेत्र काफ्लेको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरीले लिसंखुपाखर गाउँपालिका– ६ को एम्बुलेन्स मगाएर घाइते श्रेष्ठलाई खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्‍याएको थियो । अस्पतालले रक्तस्राव रोक्न नसक्ने र तत्काल काठमाडौं लैजान भनेपछि श्रेष्ठलाई काठमाडौं लगिएको थियो ।

images
images
दुईजना प्रहरीले एम्बुलेन्समा काखमा राखेर लगिरहेका विश्वराज बाटोभरि छटपटाउँदै प्रहरी र एम्बुलेन्सचालकलाई अंकल गाडी छिटो हाँक्नु न मलाई छिटो अस्पताल पुर्‍याउनु भन्दै रोइरहेका थिए । अत्यधिक रक्तस्रावका कारण विश्वराजले काभ्रेको साँगा पुग्दानपुग्दै देहत्याग गरे । प्रहरीका अनुसार उनलाई धुलिखेल अस्पताल राख्न खोजिएको थियो, तर परिवारका सदस्यले बी एन्ड बी अस्पताल नै ल्याउन भनेपछि धुलिखेल अस्पताल गेटबाटै फर्काइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख मुकेश न्यौपानेले बताए ।

रोजगारीका लागि फ्रान्स जाने कागजात बोकेर काठमाडौं हिँडेको छोराको मृत्युपछि अचेत छन् बाबुआमा
मंगलबार दिउँसो झन्डै ३ बजे ललितपुुरको बी एन्ड बी अस्पतालको इमर्जेन्सी कक्षमा पुर्‍याइएका विश्वराजलाई तत्काल चिकित्सकहरूको टोलीले मृत घोषणा गरेको थियो । रोजगारीका लागि आवश्यक कागजात बोकेर काठमाडौं हिँडेका छोराको मृत्यु भएपछि बुबा विष्णु श्रेष्ठ र आमा बुना श्रेष्ठ मंगलबारदेखि नै बेहोस छन् । विष्णुका दुवै छोरी अचेत भएपछि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको बैतेश्वर–७ दोलखाका वडाध्यक्ष मीनकुमार सिवाकोटीले जानकारी दिए । बुधबार साँझ पोस्टमार्टमपछि पशुपति आर्यघाटमा विश्वराजको दाहसंस्कार गरिएको उनले बताए ।

प्रहरी भन्छ– दुर्घटनाको जानकारी नै ढिला आयो

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले दुर्घटनाको खबर नै प्रहरीलाई ढिलो आएको जानकारी दिए । ‘हामीलाई खबर नै ढिलो गरी प्राप्त भयो, खबर पाएको पाँच मिनेट नपुग्दै प्रहरी घटनास्थल पुगेको छ,’ उनले भने । प्रहरी पुग्नासाथ लिसंखुपाखर– ६ को एम्बुलेन्स मगाएर घाइतेलाई अस्पताल पठाइएको न्यौपानेको भनाइ छ । उनले प्रहरीले अधिकतम प्रयास गर्दा पनि घाइते श्रेष्ठको निधन भएकोमा आफूहरूलाई दुःख लागेको बताए ।

बैतेश्वर गाउँपालिका– ७ का वडाध्यक्ष मीनकुमार सिवाकोटीले बसले ठक्कर दिएर मान्छे मर्दा पनि यातायात समितिले चासो नदिएको बताए । बसका चालकले सोही बस प्रयोग गरेर घाइतेलाई अस्पताल लगेको भए यो अवस्था नआउने उनको भनाइ छ । ‘गाडीले किचेर मान्छे मर्दा पनि यातायात समिति बेखबर हुनु दुर्भाग्य हो । मृतकको परिवार यातायात समिति खोज्दै हिँड्नुपर्ने, सयौँ मान्छेहरू घाइतेको उद्धार गर्न छाडेर रमिता हेरिरहने, उल्टै फोटो–भिडियो खिचेर बस्दै गर्दा यो समाज कता जाँदै छ भन्नेमा गम्भीर समीक्षा गर्ने समय आएको छ,’ सिवाकोटीले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।