ल्हारक्यालद्वारा पदभार ग्रहण
रुपन्देही । नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले बिहीबार जिम्मेवारी सम्हालेका छन् । बुद्धजन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभारग्रहण गरे ।
उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर स्वागत गरेका थिए ।
उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गरेका छन् । पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले लुम्बिनीको गरिमालाई उँचो राख्ने प्रतिबद्धता जनाए । उनले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनीजस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताए ।
लामाले आफू लामो समयदेखि बुद्धमार्गमा हिंड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए । उनले बुद्धजन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरी काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने बताए ।
‘मान्छे हो, कहिलेकाँही बुझाईमा समस्या हुनसक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्नेछैन’, उनले भने ।
उपाध्यक्ष लामाले विश्वमा मानव रहँदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरु प्रयोग गर्ने बताए । उनले लुम्बिनीलाई पवित्र स्थलका रुपमा परिचित बनाउने गरि काम गर्नका लागि पदाधिकारी, कर्मचारी, स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले बौद्धदर्शमा विद्यावारिधी गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रुपमा पाएको बताउँदै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भाषणभन्दा लुम्बिनीका बाँकी गुरुयोजना, लुम्बिनीलाई विश्वभरका बौद्धधर्माम्बलम्बीहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न काम गरेर नतिजा दिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एंव पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।
कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सीमित साधन श्रोतबाट काम भइरहेकाले अब बाँकी कामहरु नवनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास लिए । नवनियुक्त लामाको स्वागतमा लुम्बिनी विकास कोषका पदाधिकारीसहित बोर्ड सदस्य, परिषद सदस्य, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते डा. लामालाई उपाध्यक्षका रुपमा नियुक्त गरेको हो । पूर्व राज्यमन्त्री, संविधानसभा सदस्यसमेत रहेका डा. लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।


