नेपालका ‘मुन्ना भाई एमबीबीएस’ अर्थात डाक्टर सुनिल शर्मा
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा नक्कली शैक्षिक प्रमाण प्रयोग गरेको अभियोगमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले शर्मालाई काठमाडौं गोल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो । शर्माको पक्राउ पुष्टि गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले ‘शैक्षिक प्रमाणपत्र नक्कली रहेको सम्बन्धमा अनुसन्धान गर्न पक्राउ गरिएको’ पुष्टि गरे ।
विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसीका सञ्चालक समेत रहेका शर्माको प्लस टुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको दावी गरिएको छ ।
भारतको बिहार इन्टरमिडियट काउन्सिलबाट जारी भएको नक्कली शैक्षिक प्रमाणपत्रको भरमा शर्माले एमबीबीएस उत्तीर्ण गरेको दावी गरिन्छ । शर्माले विराटनगरमा मेडिकल कलेज आफैंले खोलेपछि सोही कलेजबाट एमबीबीएस पास गरेका थिए ।
७३ सालमा पक्राउ पर्ने डरले जापान भागेका थिए शर्मा
मेडिकल कलेजका सेयर सदस्यलाई काभ्रेको कामीडाँडामा कुटाउने, कर छल्ने, अवैध सम्पत्ति थुपार्नेदेखि नक्कली शैक्षिक प्रमाणपत्रका भरमा डाक्टरी समेत गरेका शर्माको विवाद झन्डै एक दशक पुरानो हो ।
७२ सालमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल मेडिकल काउन्सिल र माध्यमिक शिक्षा परिषदसँगको सहकार्यमा ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो ।
जसको पहिलो चरणमा २० जना नक्कली चिकित्सक पक्राउ परेका थिए । दोस्रो चरणमा २६ चिकित्सक मुछिएका थिए ।
दोस्रो चरणको अनुसन्धानमा डाक्टर सुनिल शर्मा पनि तानिएका थिए । पक्राउ पर्ने डरले उनी जापान भागेर दुबई हुँदै नेपाल फर्केका थिए ।
त्यसयता नेपाली कांग्रेसको राजनीतिक छहारीमा पुगेका शर्मा पक्राउ पर्नबाट जोगिएनन् मात्रै, कांग्रेसकै टिकटबाट गएको निर्वाचनमा मोरङ ३ बाट प्रतिनिधिसभामा निर्वाचित पनि भएका थिए ।
गृहमन्त्रीले बदला लिएको टिप्पणी, अर्थमन्त्री पनि रुष्ट थिए शर्मासँग
नक्कली सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले राजीनामा नदिए संसदमै अनसन बस्ने चेतावनी दिएर शर्मा चर्चामा आएका थिए । स्वास्थ्य बीमाअन्तर्गत उपचार गर्ने काम आफ्नो कलेजहरुले पनि पाउनु पर्ने माग अर्थमन्त्री महतसँग शर्माले राखेका थिए ।
शर्माको माग तत्काल पूरा नभएपछि शर्मा महतको राजीनामा माग्न थालेका थिए । सत्ता पक्षकै सांसदले प्रतिपक्षको जस्तो अभिव्यक्ति दिन थालेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि दबाबमा आएको बताइन्छ ।
शर्माले गृहमन्त्री र अर्थमन्त्रीविरुद्ध दिएको अभिव्यक्तिसँग अहिलेको पक्राउ प्रकरण नजोडिएको बताइए पनि झन्डै दशक पुरानो मामिला अहिले कसरी ब्युँतियो ? भन्ने प्रश्न पनि उठेको छ ।


