संसद् राप्रपाले अवरुद्ध गरेको पनि होइन, हाम्रो चाहनाले खुल्ने पनि होइन : लिङ्देन

काठमाडौं, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसद्को गतिरोध अन्त्यको पहल सरकार, सभामुख र प्रमुख प्रतिपक्षी दलबाटै हुनुपर्ने औंल्याएका छन् ।

‘संसद् राप्रपाले अवरुद्ध गरेको पनि होइन, हाम्रो चाहनाले खुल्ने पनि होइन । संसद् खुलाउन हामीले होइन, सरकार, सभामुख र प्रमुख प्रतिपक्षले पहल गर्नुपर्ने हो । अहिलेसम्म हामीसँग कुराकानी समेत गरिएको छैन । सरकार जिम्मेवार भएको भए राष्ट्रिय पार्टीहरुसँग छलफल गरिहाल्थ्यो नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

अध्यक्ष लिङ्देनले सरकार संसद् भइरहोस् भन्ने पक्षमा रहेको आरोप पनि लगाए । उनले भने, ‘सरकार प्रतिपक्षले संसद् अवरुद्ध गरिरहोस्, सुनकाण्डको कुरा हुँदै गर्दा अन्य प्रकरणमा उन्मुक्ति दिन सकिन्छ भनेर ढुक्क छ । सुन तस्करमा माथिल्लो स्तरका नेताहरुको संलग्नताबिना सरकारले यस प्रकारको अडान किन लिइरहेको छ ? सीआईबीले गृहमन्त्री, अर्थमन्त्री र आईजीपीसँग बयान लिन र पक्राउ गर्न सक्दैन ।’

सुन तस्करीमा उच्चस्तरीय न्यायिक छानबिन समिति बनाएर संसद् खोल्नुपर्ने पनि उनले औंल्याए । लिङ्देनले भने, ‘राप्रपा संसद् अवरुद्ध गर्नुहुन्न भन्ने पक्षमा छँदै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र होइन उत्तरी नाकाबाट पनि सुन भित्रिएको कुरा आएको छ । तर सुन तस्करीको जरासम्म पुग्ने अनुसन्धान गर्नुपर्छ ।’

राप्रपा कुनै पनि हालतमा सत्तामा नजाने तर सरकारले ठीक काम गरे समर्थन दिने पनि अध्यक्ष लिङ्देनले बताए । ललिता निवास प्रकरणमा माधवकुमार नेपाल, बाबुराम भट्टराई र विजय गच्छदार आदि एबीसीडी जो सुकै भए पनि अनुसन्धान र कारबाही हुनुपपर्ने उनले औंल्याए । लिङ्देनले भने, सरकार देखादेखी दोषी उम्काउन खोजिरहेको छ । ललिता निवास प्रकरणलाई सत्ता टिकाउने टुल्स बनाइँदै छ ।’

राप्रपा अध्यक्ष लिङ्देनले तत्काल राष्ट्रिय सहमतिको सरकारको कल्पना नगरेको पनि बताए । उनले भने, ‘गत निर्वाचनमा जुन जनादेश आएको छ, त्यसमा कुनै एक दलमाथि आम जनताको विश्वास देखिएन । मिलेर काम गर्नु, निषेध नगर्नु, विकास र सुशासनलाई प्राथमिकता दिनु भन्ने जनादेश छ । त्यसैले सबैलाई समेटेर अघि बढ्नु उचित हो ।’

कोसी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर आधा आधा अवधि सरकार चलाउनु उपयुक्त हुने विचार पनि उनले दोहोर् याए । उनले भने, ‘अहिले पनि कांग्रेसले एमालेसँग विश्वासको मत लिएर सरकार चलाए हुन्छ । सरकारलाई समर्थन दिने राप्रपाको सोच छैन । सभामुख त पहिले पनि नलिएकै हो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।