गगन थापाले भने– माधव र बाबुरामको बयान नलिने कुरामा मेरो गम्भीर आपत्ति छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठुला काण्डहरू शीर्ष नेताहरूकै कारण सामसुम पार्न खोजेको भन्दै आपत्ति जनाएका छन्। झापाको शिवसताक्षी नगरपालिकाको नगर सम्मेलनलाई आइतबार सम्बोधन गर्दै थापाले विभिन्न घटनामा संलग्न सबै नेताहरू कारबाहीको दायरामा आउनै पर्ने बताए।

शीर्ष नेताबीच यस्ता काण्डको छानबिन नगर्ने सहमति भएको समाचार आइरहेको भन्दै थापाले आपत्ति पनि जनाए। ‘तेरो र मेरो कुरा मिलेन भने खोलिदिने हो । एउटाले भन्छ– म सुन काण्डको छानबिन गर्छु । अर्कोले भन्छ–ठुलो कुरा गर्छस् । गिरिबन्धु टिस्ट्रेटको फाइल खोल्दिऔँ भन्छ । गिरिबन्धुको फाइल खोलियो भने म तेरो शिविरको खोली दिन्छु । त्यसपछि अर्कोले भन्छ । कोही पनि नखोलौँ । त्यो पाइन्छ ?,’ महामन्त्री थापाको प्रश्न छ ।

यति–ओम्नी, सुन काण्ड, ललिता निवास प्रकरण, गिरीबन्धु टिस्ट्रेट प्रकरणका विषयमा छानबिन हुनुपर्ने पक्षमा कांग्रेस उभिनुपर्ने उनको भनाइ छ ।

‘यति ओम्नी, गिरिबन्धु, ललिता निवास, सुन तस्करी, शिविर घोटाला लगायत सबै काण्डको फाइल खोलिनुपर्छ । त्यसको अनुसन्धान हुनुपर्छ । त्यसमा निर्दोष एक जना पनि पर्नु हुन्नँ । दोषी जोसुकै होस्,’ उनले भने, ‘हाम्रो पार्टीको होस्, अर्को पार्टीको होस् कि पूर्व प्रधानमन्त्री होस् । ठुलो नेता होस् वा सानो नेता होस् । एक जनाले पनि उन्मुक्ति पाउनु हुँदैन भन्ने कुराको पोजिसन नेपाली कांग्रेसको बन्नुपर्छ ।’

सरकारले भुटानी शरणार्थी र सुन काण्डलगायतको छानबिनको नेतृत्व गरिरहेका प्रहरी नेतृत्वको सरुवा गरेबारे पनि थापाले प्रश्न उठाएका छन् । ‘सुशासनको काम गरेको भनेर प्रशंसा पाइरहेको बेलामा पछिल्लो समय प्रहरी प्रशासनमा बसेका मानिसको सरुवा गर्नेदेखि लिएर यावत विषयमा कुरा सुनिरहेका छौँ । यी सबै कुराभन्दा अलग नेपाली कांग्रेसबाट छ, रहन्छ । कांग्रेसको एउटा कुनै व्यक्ति जतिसुकै ठुलो होस् । कांग्रेसको कुनै एउटा व्यक्ति यी कुरामा संलग्न हुन्छ भने, त्यो व्यक्तिको निजी कुरा हुन्छ । माथि बस्ने कुनै नेताले गरेको गल्तीको भारी तल बस्ने कार्यकर्ताले बोक्न सक्दैन,’ उनले भने ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध बयान नलिने सत्ता गठबन्धनले निर्णय गरेको सुन्नमा आएको भन्दै यसमा आफ्नो गम्भीर आपत्ति रहेको थापाले बताए ।

‘हामीले सुन्यौँ, गठबन्धनका नेताहरू बैठक बस्नुभयो । यो बैठकमा ललिता निवास जग्गा प्रकरणका सन्दर्भमा अनुसन्धान गर्नुपर्छ भनेर बयान लिन तयार गरिएका केही नेताहरूको बयान नलिने निर्णय भयो रे भन्ने कुरा पढ्यौँ,‘ के गठबन्धन नेताहरू बसेर यो विषयमा छलफल वा निर्णय लिन पाउनुहुन्छ ?,’ उनको प्रश्न छ ।

उनले गठबन्धन बैठक लाइभ गर्नुपर्ने बताए । ‘कांग्रेस केन्द्रीय समिति बैठक मात्र होइन, गठबन्धनका बैठक लाइभ गर्नुपर्छ, के भयो जनताले थाहा पाउनुपर्छ,’ उनले भने । यस्तै उनले कांग्रेस, एमाले र माओवादीको शीर्ष नेताहरुबीच छलफलको पनि यथार्थ बाहिर आउनुपर्ने बताए। उनले भने, ‘कहिलेकाहीँ प्रतिपक्षी दलका नेतासँग पनि बैठक हुने गर्छ। यस्ता बैठक लाइभ हुनुपर्छ, किनभने बैठक अधि एउटा भाषा, बैठकपछि अर्को भाषा सुनिने गरेको छ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।