‘मिसन २०८४’ मा होमियो माओवादी, शनिबारदेखि देशभर रुपान्तरण अभियान

अशोक घिमिरे/ काठमाडौँ, १५ भदौ : सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अपराह्न १ बजे काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने कार्यक्रम छ ।

मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’ उद्देश्य राखेको छ । गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धनलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो ।

पार्टी अध्यक्ष प्रचण्डले अभियान शुभारम्भको घोषणा गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेगरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । पार्टी अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कामय तथा सेवा प्रवाहमा जनअपेक्षाअनुसार काम गर्दै आएको पार्टीले जनाएको छ । सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको सो पार्टीको दाबी छ ।

अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जनवर्गीय सङ्गठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ । माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।

अभियानका लागि पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकार सदस्यको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारी सम्मिलित पालिकास्तरको टोली निर्माण गरिएको छ । अभियान टोलीले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्नेछ ।

अभियान तीन चरणमा सञ्चालन हुने बताइएको छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिनेछ ।

दोस्रो चरणमा पाँचघण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तक्र्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवाभेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तक्र्रिया गरिने जनाइएको छ । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन तथा ऐक्यबद्धता एवं टोलसभा गरिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

माओवादीले अभियानलाई सफल बनाउन प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ‘प्रचण्ड’सहित सरकार तथा अन्य जिम्मेवारीमा रहेका सबै पदाधिकारीले कम्तीमा एक÷एक वडाको जिम्मेवारी लिनुपर्ने नीति लिएको छ । केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले आफूले सातै प्रदेशका एक÷एक गरी सात वडाको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

माओवादीले अभियान सञ्चालनका लागि सबै पदाधिकारीको कार्यविभाजन गरी प्रदेश संयोजक तोकेको छ । कोशीमा चक्रपाणि खनाल, मधेशमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव, सुदूरपश्चिममा डिलाराम आचार्य, सम्पर्क समन्वयमा गिरिराजमणि पोखरेल, उपत्यका विशेषमा वर्षमान पुन र प्रवास प्रदेशमा राम कार्कीलाई संयोजक तोकिएको छ ।

अभियानलाई प्रभावकारी बनाउन आजसम्म प्रदेश, जिल्ला, पालिका, वडा बैठकबाट कार्ययोजना निर्माण गरिएको माओवादीले जनाएको छ । आगामी कात्तिकसम्म अभियान चल्नेछ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।