रूपान्तरण अभियानमा जुट्यो माओवादी, २२ पदाधिकारीको जिम्मेवारी तोकियो

काठमाडौँ, १५ भदौ : आफ्नो नेतृत्वको सरकारले थालेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहमा थालिएको सुधारलगायत मुद्दा लिएर सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) विशेष अभियानका साथ जनताको बीचमा जाँदैछ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि देशभरका छ हजार सात सय ४३ वडामा एकैसाथ रूपान्तरण अभियानको शुभारम्भ गर्दै हुनुहुन्छ ।

माओवादीले अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीनमहिने अभियानको उद्घाटनको जिम्मेवारी तोकेको छ । माओवादीका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले काठमाडौँको चन्द्रागिरी–२ घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुरको ललितपुर महानगरपालिका १८ हरिसिद्धी, उपाध्यक्षत्रय कृष्णबहादुर महराले रोल्पाको सुनछहारी गाउँपालिका, अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका र पम्फा भुसालले ललितपुर महमानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्नुहुनेछ ।

महासचिव देवप्रसाद गुरुङले लमजुङको सुन्दरबजार नगरपालिका–८ भोटेवडार, उपमहासचिव गिरिराजमणि पोखरेलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका, वर्षमान पुनले काठमाडौँको गोङ्गबू, हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई, जनार्दन शर्माले काठमाडौँको चन्द्रागिरि नगरपालिका, मात्रिकाप्रसाद यादवले सुर्खेतको वीरेन्द्रनगरपालिका, सचिव दीनानाथ शर्माले बागलुङको बागलुङ नगरपालिका, चक्रपाणि खनालले मोरङको विराटनगर महानगरपालिकामा अभियानको नेृतत्व गर्दै हुनुहुन्छ ।

सचिव देवेन्द्र पौडेल कास्कीको पोखरा महानगरपालिका, लीलामणि पोख्रेल महोत्तरीको बर्दिवास नगरपालिका, गणेश साह काठमाडौँको बानेश्वर, हितमान शक्य रुकुमपूर्वको सिस्ने गाउँपालिका, हितराज पाण्डे गोरखाको पालुङटार नगरपालिका, डिलाराम आचार्य कैलालीको धनगढी उपमहानगरपालिका, सुरेन्द्रकुमार कार्की झापाको बुद्धशान्ति गाउँपालिका र कोषाध्यक्ष श्रीराम ढकाल चन्द्रागिरी नगरपालिकामा अभियानमा सहभागी हुने माओवादीले जनाएको छ ।

अभियानअन्तर्गत कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।

माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरिएको छ । उनीहरूलाई अस्थायी बसोबासस्थलसमेतमा कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।

अभियान तीन चरणमा सञ्चालन हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने छ ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवाभेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभाहरू गरिनेछ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।