सहमति,सहकार्य र एकताको मियो थिए नेम्वाङ

नारायण न्यौपाने / काठमाडौँ, २६ भदौ स् नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।

विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मनुभएका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो ।

उहाँले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा ९एमाले०को उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाल्नुभयो ।

इलाम नगरपालिका–७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आउनुभएको थियो । प्राध्यापन, वकालत र राजनीतिलाई पनि उहाँले सँगसँगै अघि बढाउनुभएको थियो ।

उहाँको सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले समकालीन नेपाली राजनीतिका पत्याइएका अभिभावकजस्तै हुनुहुन्थ्यो । संसद् सञ्चालनका क्रममा तत्काल आएका चुनौतीलाई सहजरूपमा अघि बढाउन खप्पिस नेम्वाङ प्रतिवाद गर्ने नेता तथा सांसदलाई व्यङ्ग्यात्मक र मीठो शैलीमा जवाफ दिएर सभालाई रोचक बनाउनुहुन्थ्यो ।

विसं २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा इलाम निर्वाचन क्षेत्र नं २ बाट विजयी नेम्वाङले नेपालको संसदीय लोकतान्त्रिक अभ्यासमा आफूलाई परिपक्व राजनीतिज्ञको रूपमा प्रमाणित गराउन सफल हुनुभयो ।

पार्टीभित्र कतिपय मुद्दामा फरक विचार र धारणा राख्दै आउनुभएका नेम्वाङ पछिल्लोपटक दलले गर्दै आएको संसद् अवरोधप्रति असहमति जनाउँदै अभिव्यक्ति दिनुभएको थियो । दलहरूबीच बेलाबखत घटना विशेषका कारण देखिने तिक्ततालाई निरन्तर वार्ता र संवादबाट सहमतिमा पुग्न सकिने धारणा राख्नुहुने नेम्वाङले सबैसँग भेटघाट र वार्ता छलफलका लागि सहज हुनुहुन्थ्यो ।

सञ्चारकर्मीसँग निरन्तर सम्पर्कमा रहने नेम्वाङ कुनै घटना र सूचना प्राप्त गर्नासाथ त्यसको पुष्ट्याइँ र सूचना दिन निकै सहज हुनुहुन्थ्यो । उहाँका पिता स्व रामबहादुर न्यायाधीश हुुनुहुन्थ्यो भने छोरा सुहाङ नेम्वाङ पनि कानुन व्यवसायी नै हुनुहुन्छ । कानुनसहित दुई विषयमा स्नातक नेम्वाङ लामो समय प्राध्यपन पेसामा रहनुभएकाले पार्टी प्रशिक्षणमा पनि अब्बल हुनुहुन्थ्यो ।

उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । सधैँभर सिंहदरबारस्थित संसदीय दलको कार्यालय रहने नेम्वाङ गत शनिबार गृहजिल्ला पुगेर फर्केपछि रुघाखोकी लागेका कारण आउनुभएन । संविधानसभाबाट संविधान जारी गर्ने क्रममा उहाँले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको उहाँका सहकर्मी नेताहरू बताउनुहुन्छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण उहाँको योगदान स्मरण गर्दै भन्नहुन्छ, “संविधानसभाबाट संविधान जारी गर्न उहाँको ठूलो योगदान छ, जसरी भए पनि संविधान जारी गर्नुपर्छ भनी त्यसबेला निकै चिन्तित हुनुहुन्थ्यो ।”

मुलुकका ऐन र कानुनप्रति धेरै जानकार भएका कारण उहाँले कानुनीरूपमा आउन सक्ने अड्चन र मार्गचित्रबारे सबै नेताहरूले सहजरूपमा स्वीकार गर्ने गरेको घटना नेता कर्णले सुनाउनुभयो । नेता उहाँ भन्नुहुन्छ, “गाली गरे पनि हाँस्ने व्यक्ति, सबै दलका नेतासँग मित्रभाव राख्ने नेम्वाङ उच्चकोटीको राजनीतिज्ञ हुनुहुन्थ्यो ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖