सरकार गठन हुनासाथ ढाल्न लाग्ने कसरतले समृद्धि आउन्न : सांसद नेपाली

काठमाडौँ, २७ भदौ : पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका नेताहरूको बाहुल्यता भएकोे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की अनिशा नेपाली भने संसदीय अभ्यासमा नयाँ भए पनि प्रस्तुति, बुझाई र भोगाइका हिसाबले परिपक्व देखिनुहुन्छ । प्रतिनिधिसभाका सांसदमध्ये तुलनात्मकरूपमा कलिलो उमेर, छोटो राजनीतिक यात्रा तथा फरक शैक्षिक विधा रहे पनि सांसद नेपाली निर्धक्कसँग भन्नुहुन्छ, “देशको भविष्य नियाल्दै जनताका आवाज र समृद्धिलाई सुखानुभूति हुने गरी सदनमा भनाइ राख्नुपर्छ ।”

उहाँको भनाइ छ– “सदनमा कसले के भन्यो भन्नेतिर नगई विधेयक र जनताका सुख–दुःख, गुनासाका आवाज उठाउनैपर्छ, पुरानाले सिकाउनुपर्नेमा उहाँहरूलाई नै सम्झाउनुपर्ने जस्तो देख्छु । त्यो ठाउँमा अरु बेतुक र छाडा बोल्ने होइन नि !”

सात वर्षको राजनीतिक यात्रा, स्वास्थ्य क्षेत्रमा अहेब पृष्ठभूमि रहेकी प्रतिनिधिसभा सदस्य नेपालीले ‘सांसदसँग–रासस’ संवादमा नीति निर्माणको जिम्मेवारीमा सांसद केन्द्रित हुनुपर्नेमा सत्ता प्राप्तिको दौडधुपले विधायिकी भूमिका कमजोर तुल्याएको बताउनुभयो ।

सांसदले आफ्नो भूमिकालाई विधेयक तथा जनताका सरोकारका मुद्दामा केन्द्रित गरेका विषयलाई पनि सरकारबाट यथोचित सम्बोधन नहुँदा जनतामा निराशा पैदा भएको मात्र नभई महत्त्वपूर्ण विधेयक निर्माणका कार्यसमेत ओझेलमा परेको उहाँको गुनासो छ । विधेयकमा समेटिएका स–सना विषयलाई पनि बेलैमा ध्यान पुर्याएर छलफल गरिएन भने जनताले भविष्यमा फेरि दुःख पाउने पक्षलाई बुझ्न आवश्यक रहेको उल्लेख गर्दै सांसद नेपालीले देशमा बलियो कानुन नभएका कारण जनताले दुःख पाइरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “ठूला दलबीचको द्वन्द्वका कारण सदनमा सांसद उपस्थित भए पनि बैठक चल्दैन, एउटा दल विशेषका कारण सदन चल्दैन भने त्यसविरुद्ध आवाज उठाउनु स्वभाविक र ठीकै कुरा हो, जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने पनि लाग्छ ।”

समानुपातिक निर्वाचन प्रणालीमा दलित आरक्षण समूहमा राप्रपाबाट निर्वाचित नेपाली भन्नुहुन्छ, “आफ्ना प्रतिनिधिका अभिव्यक्ति संसद्को रेकर्डबाटै हटाउने अवस्था आउला भनी जनताले अपेक्षा गरेका थिएनन्, तर दुर्भाग्य यहाँ यस्तै भइरहेको छ ।”

‘माननीय’ पद र भूमिकाको गहन अध्ययन नहुँदा सदनका बैठक खुलामञ्चका आमसभाजस्तो हुने गरेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिले बोली र व्यहारलाई सुधार गरी सभ्य भाषा प्रयोग गरेमात्र सदन र सांसदको ओज बढ्ने सुझाव दिनुभयो ।

सांसद नेपाली भन्नुहुन्छ, “संसद् नियमावलीमा कसरी बोल्ने, कसरी बस्ने भन्नेसम्म स्पष्ट व्यवस्था छ, तर कतिपय माननीयले त पोशाकै खोलेर नाङ्गै हुनसमेत भ्याएको अवस्था छ ।” सदन विधि र नीति निर्माण गर्ने मूल थलो भएकाले मूल जिम्मेवारी तथा दायित्वलाई दुरुपयोग होइन, सदुपयोग गर्नुपर्नेमा उहाँको जोड छ ।

जनताले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत कुनै कुराको दुःख नहोस् भनेर निर्वाचनमा मत दिई ठूला दल बनाएको प्रसङ्ग उल्लेख गर्दै सांसद नेपालीले जनताका आवाजलाई कार्यान्वयन हुने ढङ्गले सदनमा प्रस्तुत हुन सबै सदस्यलाई आग्रह गर्नुभयो । उहाँले तीन तहका सरकारबीच विकास र समृद्धिका विषयमा समन्वय तथा सहकार्यको साटो स्वार्थपन बढी देखिएको र दलबलका आधारमा योजना छनोट प्रवृत्तिले सङ्घीय संसद्का सांसद पनि त्यसैमा दौडने गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।

एक प्रसङ्गमा सांसद नेपालीले भन्नुभयो, “प्रजातन्त्रको पुनःस्थापनापछि राजनीतिमा प्रवेश गरेका कयौँ नेताका सहरमा आलिसान महल बनेका छन्, गाडीमा हुइकिएका देखिन्छन्, तर मत दिने जनताको हालत भने ज्यूँको त्यूँ छ, यसमा कसैलाई वास्ता छैन ।”

महँगो निर्वाचन प्रणाली, भागबण्डाको राजनीति, मुलुकले धान्नै नसक्ने सङ्घीयता र प्रदेशको औचित्यमाथि राप्रपाले प्रश्न उठाइरहेको उल्लेख गर्दै नेतृ नेपालीले एउटा सरकार गठन हुनासाथ त्यसलाई ढाल्न हुने कसरत र अभ्यासले मुलुकलाई समृद्धि दिन नसक्ने धारणा राख्नुभयो ।

राजनीतिलाई सेवाका रूपमा लिएर काम गर्न होमिएको उहाँको भनाइ छ । सांसद नेपाली भन्नुहुन्छ, “विगतदेखि नै दीनदुःखीको सेवा गर्दै आएकी छु, राजनीतिलाई पनि सेवाकै रूपमा बुझेकी छु ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।