दलगत सोचभन्दा माथि उठेर देश बनाउन लाग्नुपर्छ –सांसद तामाङ

काठमाडौँ, ३० भदौ : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङले सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुक बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।

रामेछापमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँले रासससँग कुरा गर्दै सरकार र राजनीतिक दलका नेता मात्र होइन सबै सांसद जनताका हकहित तथा मुलुक समृद्धिमा केन्द्रित हुन नसक्दा दु्रत गतिको विकास हासिल गर्न नसकिएको टिप्पणी गर्नुभयो ।

कांग्रेस रामेछापका सभापतिसमेत रहनुभएका तामाङ भन्नुहुन्छ, “सबै नेताहरु देश बनाउने र विकासको कुरा त गर्नुहुन्छ तर यस विषयमा सबै दलबीच राष्ट्रिय सहमति भएको र त्यो व्यवहारमा लागू भएको देखिँदैन ।” सांसद तामाङले सुन तस्करी प्रकरण, नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरणलगायत भ्रष्टाचार र अनियमितताका विषयमा सत्यतथ्य छानबिन गरी त्यसमा संलग्न दोषीलाई जो केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दल एकजुट हुनुपर्ने बताउनुभयो । “यसो गर्न सके मात्र जनतामा दल र नेता कार्यकर्ताप्रति सकारात्मक सन्देश प्रवाह हुन्छ”, उहाँले भन्नुभयो ।

तथ्याङ्कसहित सार्वजनिक समाचार हेर्दा कतिपय भ्रष्टाचारका मुद्दामा केही नेतालाई कुनै पनि छानबिन नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद तामाङले भन्नुभयो, “यसमा पक्षपात भएको भन्ने जनताको आरोप छ, भ्रष्टाचार नियन्त्रण गर्ने हो भने कडाइका साथ निष्पक्ष कारबाही आवश्यक छ ।”

आर्थिक वृद्धि, भ्रष्टाचार नियन्त्रण, सुशासनका मुद्दालाई अघि बढाउन सबै दलबीच सहमति र राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै उहाँले देशलाई विकासको पथमा अघि बढाउन र जनताको आकांक्षालाई सम्बोधन गर्ने काममा एकाकार हुन जरुरी रहेको उल्लेख गर्नुुभयो ।

फरक प्रसङ्गमा सांसद तामाङले राज्यका प्रमुख तीन अङ्गमध्ये सङ्घीय संसदको सांसद विकास कोषलाई कार्यान्वयनमा सर्वाेच्च अदालतले रोक लगाएको विषयप्रति असन्तुष्टि जनाउँदै यसले विधायिकी अधिकार कुण्ठित भएको टिप्पणी गर्नुभयो । “यो राज्यको शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्तविपरीत छ”, उहाँले भन्नुभयो, “यसबाट जनताको प्रतिनिधिका अधिकार नै कुण्ठित भएका छन् ।”

विसं २०२२ मा रामेछापमा जन्मनुभएका उहाँले २०३६ सालदेखि नै राजनीतिमा प्रवेश गरेको र २०४६ पछि कांग्रेसको सक्रिय राजनीतिमा लागेको बताउनुभयो । नेता तामाङ कांग्रेसको १२औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, १३ औँ महाधिवेशनमा महासमिति सदस्य र १४औँ महाधिवेनमा रामेछापको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।

विसं २०७० मा प्रतिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहनुभएका उहाँ २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३५ हजार सात सय ७१ मत ल्याएरसमेत वियजी हुन सक्नुभएन । सांसदले आवश्यकताअनुसार विजनेश नपाएको र जनअपेक्षाअनुसार कानुन बन्न नसकेको भन्ने सन्दर्भमा सांसद तामाङले हाल विभिन्न दल सम्मिलित गठबन्धनको सरकार भएको र विपक्षी दलहरुले पनि विभिन्न समयमा सदन चल्न नदिएका कारण अपेक्षाअनुसार कानुन बन्न नसकेको जिकिर गर्नुभयो । साथै उहाँले सदनमा जनजीविका र समसामयिक विषयमा भने पर्याप्त आवाज उठ्दै आएको उल्लेख गर्नुभयो ।

केही सांसदले विभिन्न स्वार्थ र चर्चामा आउनका लागि अनेक प्रोपोगाण्डा गर्ने गरेको सन्दर्भमा सांसद तामाङले जनताका प्रतिनिधिको सर्वाेच्च थलोमा सङ्घीय संसदमा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । जनताका प्रतिनिधिमात्र नभई कानुन बनाउने व्यक्ति भएकाले सांसदले सदनमा बोलेका विषय इतिहासका रूपमा रेकर्डमा रहने हुँदा प्रस्तुति र व्यवहारले सकारात्मक सन्देश दिन सक्नुपर्ने उहाँले बताउनुभयो । “सदनलाई मर्यादित तुल्याउन जनप्रति निकै ठूलो हात छ, त्यो गर्नुपर्छ”, सांसद तामाङले भन्नुभयो ।

उहाँले ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट नेपालको संविधान जारी भएको र संविधानअनुसार सङ्घीयता लागू भएको उल्लेख गर्नुभयो । साथै सांसद तामाङले भन्नुभयो, “सङ्घीयतामा जनप्रतिनिधिलाई प्रदान गरिने तलबभत्ता र अन्य सुविधाका कारण खर्च बढेकोप्रतिको जनटिप्पणीलाई गम्भीररुपमा सोच्नुपर्ने बेला आएको छ, यसले सङ्घीयताको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।”

जनताका आवश्यकता र विकास निर्माणका काममा स्थानीय तहको सरकार भने सक्षम रहेको र राम्रो काम गरेको उहाँको भनाइ थियो ।–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।