धानबालीमा ग्वारोको समस्या बढ्दो, किसान चिन्तित

वीरगञ्ज, ६ असोज (रासस) ः धानबालीमा ग्वारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् ।

पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् ।

गत भदौको दोस्रो साता यता धानबालीमा देखिएको ग्वारो किराको समस्याले धानबालीमा क्षति पु¥याइरहेको स्थानीय किसान बताएका छन् । ग्वारो किराले आफूहरुको करिब ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पु¥याएको धोविनी गाउँपालिका–५ का स्थानीय शिवनाथ यादवले बताउनुभयो । वर्षाको अभावमा धानबाली सुक्दै गएको बेला धानबालीमा देखिएको ग्वारोको समस्याले आफू थप समस्यामा परेको उहाँको कथन छ ।

“ग्वारो किराले धानबालीको पात खाइदिने, उम्रिदै गएको धानको बोटमा क्षति पु¥याइरहेको छ”, जगरनाथपुर गाउँपालिकाका किसान हरिशङ्कर कुर्मीले भन्नुभयो, “सुरुमा वर्षा नभएर ठूलो रकम खर्चिएर वैकल्पिक सिँचाइबाट जेनतेन धान रोपाइँ गरे, अहिले आएर ग्वारो किराले बाली नै सखाप गर्न थालेपछि हामी चिन्तामा डुबेका छौँ ।” धानबालीमा लागेको ग्वारोको रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग उहाँले आग्रह गर्नुभयो ।

धानबालीमा ग्वारो किराको प्रकोपले खेतमै धान सुक्न थालेको पीडित किसानको भनाइ छ । खेतमा असन्तुलन, गुणस्तरीय रसायनिक मलको अभाव तथा प्रतिकूल वातावरणका कारण धानबालीमा ग्वारो किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल कुशवाहाले बताउनुभयो ।

पुतली जातको ग्वारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको पाइएको उहाँको भनाइ छ । खेतमा प्रयोग गरिने रसायनिक मल, डिपिए, युरिया, पोटास लगायतको मात्रा नमिल्दा पनि बालीको जरो कमजोर भई किराको आक्रमण बढेको र यसको रोकथाम र नियन्त्रणका लागि सो क्षेत्रमा प्राविधिक खटाइएको प्रमुख कुशवाहाले बताउनुभयो ।

समयमा बर्षा पर्याप्त नभए पनि पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर भए पनि किसानले पर्सामा ९५ प्रतिशत जग्गामा धान रोपाइँ गरेको प्रमुख कुशवाहाको भनाइ छ । पर्सा जिल्लामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । यसवर्ष ९५ प्रतिशत अर्थात ४५ हजार चार सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको प्रमुख कुशवाहाले जानकारी दिनुभयो । पर्सामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

‘‘जिल्लाको दक्षिणी भेगका किसान गण्डक सिँचाइ आयोजनाको सिँचाइ प्रणालीबाट सिँचाइ गरेर धान रोपाइँ गरेका छन्”, प्रमुख कुशवाहाले भन्नुभयो, ‘‘अन्य भेगका किसान पानी तान्ने मोटर, पम्पसेट जडान गरेर धान रोपाइँ गरेका छन् ।” तुलनात्मक रुपमा अन्य ठाउँभन्दा पर्साको ठोरी, पर्सागढी, बहुदरमाई र जगरनाथपुर गाउँपालिका क्षेत्रमा बढी धान रोपाइँ भएको उहाँको भनाइ छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।