गायक सपूत नायकको अभिनयमा

गण्डकी, ६ असोज ः अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै हुनुहुन्छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उहाँ फुरुङ्ग हुनुहुन्छ । गायन करिअरको शिखरमा रहेकै बेला सपूतको ‘हिरो’ बन्ने सपना पनि पूरा हुँदैछ ।

गायकका रुपमा उहाँ जति सफल हुनुहुन्छ, अभिनयमा पनि उसरी नै आफूलाई उतार्न सक्नुहोला त ? यो प्रश्नको जवाफ थाहा पाउन आउँदो २६ गतेसम्म कुर्नुपछ । वडा दसैँको छेकोमा फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउँदैछ ।

सपूतकै भनाइमा अभिनेताका रुपमा यो उहाँको परीक्षा हो । “ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेल भएकाले पनि मुख्य पात्रका रुपमा मप्रति दर्शकको चासो र अपेक्षा रहनु स्वभाविक हो”, सपूतले भन्नुभयो, “यसलाई मैले धेरै गम्भीर रुपमा लिएको छैन, बरु पहिलोपटक फिल्ममा अभिनय गर्दैछु, हिरो बन्दैछु भन्ने कुराले दङ्ग र उत्साहित छु ।”

सफलताको विरासत जोडिएको फिल्म भएकाले त्यसको ओजलाई धान्नुपर्छ भन्ने महसुस आफूलाई भइरहेको उहाँले सुनाउनुभयो । “मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो फिल्म अभिनयमा पनि जोडिन्छ”, उहाँले भन्नुभयो, “फिल्म चल्ने÷नचल्ने विषय दर्शकको हातमा छ ।”

फिल्ममा अभिनय गर्ने सपना ‘परदेशी २’ बाट पूरा हुन लागेकामा सपूतले खुसी व्यक्त गर्नुभयो । “फिल्मको कथा, पात्र र चरित्र निर्वाहका दृष्टिले फिल्मको सिक्वेल मिल्दोजुल्दो हुन सक्छ, तर व्यक्तिगत रुपमा भने मलाई नयाँ फिल्म, नयाँ कथामा अभिनय गर्दैछु भन्ने अनुभूति भइरहेको छ, ठूलो पर्दामा देखिने कुराले यसै फुरुङ्ग छु ।”

आठ वर्षअघिको फिल्म ‘परदेशी’ व्यावसायिक रुपमा सफल भएकाले पनि ‘परदेशी २’ माथि हलमा टिक्नैपर्ने दबाब छ । सपूतको अभिनय यात्रामा पनि यो फिल्म सुखद् प्रस्थान बन्न सक्छ या सक्दैन, त्यो अझै पनि समयको गर्तमा छ । म्यूजिक भिडियोको अभिनय र नृत्यमा रुचाइएका उहाँलाई फिल्म फाप्ने हो या होइन यसै भन्न सकिन्न ।

सपूतले ‘परदेशी २’ को प्रदर्शनपछि अरु फिल्ममा आबद्ध हुने या आफैँले फिल्म बनाउने भन्नेबारे अहिले नै केही खुलाउन चाहानुभएन । उहाँले यसअघि पनि फिल्म निर्माण र निर्देशनमा लाग्ने सङ्केत गर्नुभएको थियो । अहिलेलाई उहाँ देशविदेशका साङ्गीतिक यात्रालाई थाँती राखेर फिल्मको प्रचारमा खटिनुभएको छ । ‘परदेशी २’ कथामा आधारित नाटक लिएर देशका विभिन्न सहरमा जान लागिएको सपूतले बताउनुभयो ।

“फिल्मको प्रचारात्मक कार्यक्रम लिएर मसहित फिल्मको टिम विभिन्न सहरमा पुग्दैछौँ, म आफैँले पूरै समय फिल्मको प्रवर्द्धनलाई दिएको छु, दर्शकहरु भेटिरहेको छु”, उहाँले भन्नुभयो, “दर्शको साथ र प्रतिक्रियाले हामी उत्साहित छौँ, दर्शकमाथ पुग्नुको आनन्द अरु केहीसँग तुलना हुन सक्दैन ।”

बिहीबार र शुक्रबार नारायणगढ, आउँदो ७ र ८ गते नेपालगञ्ज, ९ र १० गते बुटवल र ११ र १२ गते पोखरामा फिल्मको कथामा आधारित नाटक मञ्चन हुने जनाइएको छ । फिल्मको प्रचारका क्रममा सपूतले आफ्ना लोकप्रिय गीतसमेत सुनाउने गर्नुभएको छ ।

नारायण रायमाझी निर्देशित सो फिल्ममा सपूतसँगै केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायतको अभिनय छ । रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्ममा प्रवासी नेपालीको कथालाई समेटिएको जनाइएको छ ।

फिल्मको ‘हिजो काम, आज काम, काम विदेशमा’ गीत बुधबार म्यूजिक नेपाल युट्युबाट सार्वजनिक गरिएको थियो । सो गीतमा पनि सपूतको अभिनय देख्न सकिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत चर्चित छन् ।

सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ । सपूतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ । केही दिनअघि भारतीय योगगुरु रामदेवले सपूत नेपालका सलमान, साहरुख र अमिर खानभन्दा ठूला स्टार रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा गायक सपूतले प्रस्तुति दिनुभएको थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।