प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका खुलाउन मुस्ताङीको माग

कमल खत्री/बेनी (म्याग्दी), ६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किनुभएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो ।

नेपालसँग कोरलालगायतका विभिन्न थप आठ नाका खोल्ने सहमति भएपछि चिनियाँ पक्षले कोरला नाकामा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । चीनले आफ्नो भूमिलाई तारबार गरेर सुरक्षा गरेको छ । सीमानाकाको दशगजा क्षेत्रमा सुरक्षाको प्रबन्धसँगै भवन पनि बनाइसकेको छ । नाकासम्म नै सडक कालोपत्रे गरिसकेको चिनियाँ पक्षले बन्दरगाह, सुरक्षा पोस्ट, भन्सारलगायतको सम्पूर्ण तयारी गरिसकेको छ ।

कोरला नाका सञ्चालनको लागि चीनले सबै तयारी पूरा गरेको र नेपाल पक्षबाट समेत तयारी सँगसँगै सुरक्षा संवेदनशीलताको ‘ग्यारेन्टी’ चाहेको मुस्ताङका प्रदेशसभा सदस्य नाम्डु गुरुङले बताउनुभयो । चीनले नाका सञ्चालनको सबै तयारी पूरा गरेकाले गण्डकी प्रदेशको आर्थिक विकासको ‘लाइफ लाइन’ मानिएको कोरला नाका सञ्चालनको लागि प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा सम्झौता हुनसक्ने आशा पलाएको उहाँले बताउनुभयो ।

“यो नाका पारवहन र पर्यटन दुवै दृष्टिकोणमा महत्त्वपूर्ण छ । नाका सञ्चालनमा ल्याउन सकेमा अन्तरदेशीय व्यापार र धार्मिक पर्यटनको ओहोर–दोहोर सुरु हुन्छ । समग्रमा मुस्ताङ र गण्डकी प्रदेशको विकासमा यो नाकाले भूमिका खेल्छ । हामीले प्रदेश सरकार र प्रदेशसभामा यो विषयमा निरन्तर आवाज उठाउँदै आएका छौँ । सङ्घीय सरकारलाई समेत यो विषय जानकारीमै छ”, गुरुङले भन्नुभयो ।

उजाड हिमाली मरुभूमिको समथर फाँटमा रहेको कोरला नाकामा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर मात्रै सीमा क्षेत्रमा नेपालतर्फको देखिने चिनारी रहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ मार्चमा भएको औपचारिक भ्रमणका बेला चीनसँग व्यापार र पारवहन सम्झौता भएको थियो । सन् २०१८ जुनमा भएको भ्रमणका समयमा दुई देशबीच थप नाका खुलाउने समझदारी भएको थियो ।

यसै नाकालाई लक्षित गरेर निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्त्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने गरी निर्माणाधीन कालीगण्डकी कोरिडोर सडक कोरला नाकाको आधारभूत पूर्वाधार हो । घाँसादेखि जोमसोम हुँदै कोरलासम्मको सडक कालोपत्रे र ग्राभेलसहित स्तरोन्नतिको काम अन्तिम चरणमा पुगे पनि बेनीदेखि घाँसा खण्डमा निर्माण व्यवसायीको ढिलासुस्ती र बाढी, पहिरो तथा नदी कटानको कारण कालोपत्रेको काम प्रभावित भएको छ ।

दुई देशबीचको बहुप्रतिष्ठित कोरला नाका चर्चामा रहँदा परम्परागत रुपमा कोरला नाकामा अर्धवार्षिकरुपमा लाग्दै आएको व्यापार मेलासमेत चार वर्र्षदेखि बन्द भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो । यो वर्र्ष नाका सञ्चालनको सम्पूर्ण पूर्वाधार निर्माणको काम सकेको चिनियाँ पक्षले व्यापार मेला नगरेर नाका नै खुलाउने इच्छा देखाएको र प्रधानमन्त्रीको भ्रमणका क्रममा समेत यो विषय समावेश हुने खबरले नाका सञ्चालनमा थप प्रगति हुनेमा मुस्ताङवासी विश्वस्त रहेको उहाँको भनाइ छ ।

कोरला नाका परिसरमा एकीकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणको लागि करिब एक हजार रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ भने हालै माटो परीक्षणसमेत गरिएको छ । वाणिज्य मन्त्रालयबाट सर्वे र डिपिआरको लागि बजेट विनियोजन भएपछि माटो परीक्षण गरिएको हो ।

माटो परीक्षणको लागि आएको टोलीले गत असार १५ गतेदेखि कोरला नाकामा पूर्वाधार बनाउने सम्भावित ठाउँको माटो परीक्षण गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

कोरला नाकालाई लक्षित गरेर लोमान्थाङमा सीमा प्रहरीचौकी र छोसेरको नेचुङमा इलाका प्रहरी कार्यालय रहेको छ । सीमा सुरक्षालाई मध्यनजर गर्दै कोरला नाकादेखि करिब २० किलोमिटरयता नेचुङमा सशस्त्र प्रहरी बलको विओपी पोस्ट स्थापना भइसकेको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।