जनतालाई विधायिकाको भूमिकाकाबारे स्पष्ट बुझाइएको रहेनछ : सांसद पराजुली

सिर्जना राई/काठमाडौँ, १४ असोज : अवस्था सुधार, बेथिति अन्त्य र विकासको मुद्दालाई अघि बढाउने हुटहुटी बोकेर सदन प्रवेश गर्नुभएका ४४ वर्षीय सांसद गणेश पराजुली आफूले जनताका मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको बताउनुहुन्छ । विधायिकाको मुख्य भूमिका कानुन निर्माण गर्ने भए पनि जनताका गुनासा सुन्न देश दौडाहामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पराजुली आफूबाट जनताका मुद्दामा कच्चा निर्णय हुन नहुनेमा सचेत हुनुहुन्छ ।

केही समयअघि पूर्वीपहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा र भोजपुरका नागरिकसँग साक्षात्कार गर्नुभएका उहाँले भन्नुभयो, “राजनीतिक दल र नेताबाट बाचाबाहेक खास अरु केही प्राप्त गर्न नसकेका आम जनतामा धेरै निराशा भएको पाएँ । कतिपय ठाउँमा त नेताहरू आउँछन्, जान्छन् भन्दै हामीलाई नै व्यङ्ग्य गरेको पाएँ ।”

सांसद पराजुलीका अनुभवमा राजनीति, यसको नेतृत्व र राजनीतिक परिवेशप्रति आम नागरिकमा केही वितृष्णा बढेको छ । उहाँ भन्नुहुन्छ“ आम नागरिकको अनुहारमा राजनीतिक दल र नेताप्रतिको अविश्वास प्रष्टै देखिन थालेको छ ।” यसलाई कम गर्न सांसद पराजुली सदनमार्फत सशक्त खबरदारीका लागि सम्बन्धित क्षेत्रका सांसदसँगको संवादको तयारीमा समेत हुनुहुन्छ ।

“यतिबेला हाम्रो जिम्मेवारी आम नागरिकको आवाज सुन्ने र उहाँहरूको दैनिकीलाई कसरी सहज बनाउने भन्नेतर्फ काम गर्ने हो । जुनसुकै पार्टीका सांसद भए पनि उहाँहरूसँग सहकार्य गरी काम गर्ने हाम्रो योजना हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार केही स्थानमा उहाँहरूले काम सुरु पनि गरिसक्नुभएको छ । “हाम्रो पार्टीले मात्रै यस्ता विषय उठाउँछ भन्ने सन्देश दिनुभन्दा पनि हामी सम्बन्धित क्षेत्रका सबै विधायिकासँग सकारात्मक छलफल गरेर समस्याको निराकरणका लागि बहुपक्षीय संवाद गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

नेता पराजुलीले आधारभूत सेवा सुविधाबाट बञ्चित ग्रामीण क्षेत्रका जनता स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभूतिको आशामा रहेको बताउनुभयो । त्यही आडमा राजनीतिक नेताले आश्वासन बाँड्दै आएकाले जनता विधायिकाको भूमिकाबारे प्रष्ट हुन नसकेको उहाँको बुझाइ छ ।

“आम नागरिकलाई विधायिकाको भूमिकाकाबारे बुझाइएकै रहेनछ”, सांसद पराजुलीले भन्नुभयो, “विधायिका को हो ? पालिका प्रमुख को हो ? मन्त्री को हो ? यी विषयमा चासो नराख्ने तर जसरी भए पनि आधारभूत आवश्यकता पूरा गर्दिनुपर्छ भन्ने सोच धेरैमा भएको पाएँ ।” त्यसो त सांसदले विधायिकाको भूमिकासँगै विकास निर्माणका काममा पनि सक्रिय हुनुपर्ने अवस्थाले आम नागरिकमा परेको छापलाई उहाँले स्वभाविकरूपमा लिनुभएको छ ।

विसं २०५४ मा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेलगत्तै उच्च शिक्षाका लागि गृहजिल्ला खोटाङबाट काठमाडौँ आउनुभएका पराजुलीसँग तत्कालीन समयमा एउटामात्रै सङ्कल्प थियो, शिक्षक बन्ने र गाउँ फर्कने । तर काठमाडौँले पराजुलीलाई व्यवसायी बनायो । व्यवसायीबाट सांसद बन्नुभएका शिक्षकका रूपमा होइन, जनप्रतिनिधिका रूपमा गाउँ–गाउँ पुग्नुभएको छ ।

उहाँ रेसाजन्य कच्चा पदार्थबाट तयारी सामग्री उत्पादन गर्ने र विश्वबजारमा निर्यात पेसामा आबद्ध हुनुहुन्थ्यो । विसं २०७९ देखि रास्वपाको संस्थापक केन्द्रीय सदस्यका रूपमा सक्रिय राजनीतिक यात्रा सुरु गर्नुभएका पराजुली काठमाडौँ जिल्ला क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो । उहाँलाई त्यसअघिसम्म कहिल्यै राजनीतिमा आफ्नो भूमिका आवश्यक महसुस भएको थिएन ।

“पहिले राजनीतिमा व्यवसायी जोडिनु हुँुदैन भन्ने सोच थियो । जो–जसले जिम्मेवारी लिनुभएको छ उहाँहरूले नै गर्नुहुन्छ भन्ने विश्वास र अपेक्षा थियो”, रासससँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “ राजनीतिभित्रको विकृति, भ्रष्टाचारपछि अब नेताहरूलाई गाली गर्नेभन्दा पनि राजनीतिभित्रै पसेर यसको शुद्धीकरण गर्नुपर्छ भन्ने महसुस भयो ।”

संसदीय अभ्यासबारे राससले राखेको जिज्ञासामा सांसद पराजुलीले आफूसँगै रास्वपाका अन्य सांसदका लागि संसदीय अभ्यास पहिलोपटक भएको जनाउँदै धेरै सिक्न बाँकी रहेको बताउनुभयो । यद्यपि विधायिकाको भूमिका प्रभावकारी बनाउने हुटहुटीका बाबजुद कानुन निर्माणमा देखिएको सुस्तगतिले आफूहरू चिन्तित रहेको उहाँको भनाइ छ ।

“पछिल्लो आठ महिनामा हामीले धेरै अनुभव प्राप्त गर्यौँ तर त्यो पर्याप्त छैन, हामी अझै पनि सिक्ने, बुझ्ने र जान्ने प्रयासमै छौँ”, उहाँले भन्नुभयो, “पहिलो वर्षको दोस्रो अधिवेशन अन्त्य हुन लाग्दासम्म पनि विधेयकमा धेरै काम गर्न नसक्नु राम्रो अभ्यास होइन । यसले हामीलाई भित्रैदेखि पोलिरहेको छ ।”

उहाँले कानुन निर्माणमा भइरहेको ढिलाइमा सदनसँगै सरकार जिम्मेवार रहेको बताउनुभयो । “सरकार र स्थापित राजनीतिक दल, जो बहुमत लिएर बसेका छन् उनीहरूले तदारुकता नदेखाएसम्म हाम्रो सुधारका चाहना र प्रयास सफल हुन नसक्ने रहेछ”, उहाँले भन्नुभयो ।

सांसद पराजुलीले सदनमा अनुभव महत्त्वपूर्ण भए पनि स्थापित राजनीतिक दलले जनताको मुद्दा प्राथमिकतामा नराखेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो, “मुख्य राजनीतिक दलले आफ्नोे अस्तित्व बचाउने र आफ्ना पक्षका मान्छेलाई बचाउनेमै बढी ध्यान केन्द्रित गर्दा आम जनताका मुद्दा ओझेलमा परेका छन् ।”

संसदीय अभ्यासमा आफू र आफ्नो पार्टीलाई प्राप्त जनविश्वासले आफूहमा आत्मविश्वास बढेको उहाँको अनुभव छ । “देश र विदेशमा रहेका नागरिकले रास्वपाका सांसदको भूमिका सक्रिय रहेको बताउनुहुन्छ । सदनको प्रत्यक्ष प्रसारणबाट हामीलाई अवलोकन गरिरहनुभएकाले रास्वपाका सांसदको प्रस्तुतिले आशावादी भएको भन्नुहुन्छ । उहाँहरूको प्रतिक्रियाले हाम्रो आत्मविश्वास बढाएको छ ।”

मुलुकको अवस्था सुधारका लागि राजनीतिमा प्रवेश गरेको बताउनुहुने सांसद पराजुलीले फरक राजनीतिक दल र फरक विचारधारा भए पनि सुशासन, विकास, गरिबी निवारण, भ्रष्टाचार र बेथिति निवारणका लागि सबै पक्ष एकजुट हुनसके परिवर्तन सम्भव छ भन्नेमा पूर्णरूपमा विश्वस्त हुनुहुन्छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।