सांसदको दायित्व गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन लगाउने हो– नेत्री अग्रहरी

नारायण न्यौपाने/काठमाडौँ, १५ असोज : नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताउनुभएको छ ।

सांसदसँग रासस संवादमा उहाँले कतिपय सांसद कानुन निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएको घटनाले आफूलाई अचम्मित तुल्याएको प्रतिक्रिया दिनुभयो । सांसद अग्रहरीले भन्नुभयो, “जनताका प्रतिनिधिका रुपमा सङ्घीय सांसद भएर आएका छौँ, हाम्रो एउटा मात्र दायित्व देशमा गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन सक्दो प्रयासको भूमिका हुनुपर्छ ।”

उहाँसग विभिन्न सङ्घ संस्थामा आबद्ध रही सेवा गरेको तथा २०४७ देखि राजनीतिमा आबद्ध भई राष्ट्रिय महिला मञ्चको अध्यक्ष भएर काम गरेको अनुभव छ । विसं २०७४ निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र २ बाट उहाँ निर्वाचित हुनुभयो । गजेन्द्र नारायणको नेतृत्व रहेको नेपाल सद्भावना पार्टीको संस्थापक सदस्य, केन्द्रीय सदस्य, सह–महामन्त्री र उपाध्यक्षसम्म भएर काम गरेको अनुभव उहाँसँग छ ।

विकास निर्माणको प्रमुख जिम्मेवारी रहेको स्थानीय तह र प्रदेशको अधिकारलाई बेवास्ता गर्दै विकास निर्माणमा धाउने प्रवृत्तिले हाँसोको अनुभूति भएको सुनाउँदै उहाँले क्षेत्राधिकारभित्र नपरेको विषयमा भ्याइनभ्याइ लाग्ने काम सुहाउँदो विषय नभएको बताउनुभयो ।

सदनमा पुगेपछि जनता र राष्ट्रको उन्नतिका हिसाबले कायपलट गर्छाैं भन्ने सोच लिएको भए तापनि मुलुकको सर्वाेच्च निकाय संसद्मा हुने प्रस्तुति, दोषारोपण गर्ने, होच्याउने र मानमर्दन गर्ने प्रवृत्ति मौलाएकामा आफूलाई चित्त नबुझेको धारणा राख्नुभयो ।

निर्वाचन भएको १० महिना बितिसक्दासमेत एउटाबाहेक विधेयक अघि बढ्न सकेको बताउँदै नेत्री अग्रहरीले सदनलाई विजनेश दिने र विधेयक ल्याउने मुख्य जिम्मेवारी सरकारकै रहेको हुँदा कानुन बनाउने मामिलामा सरकारले आवश्यक चासो नदिएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्र र जनताको चासो एकातिर छ, सरकारको नीति तथा कार्यक्रम अर्काेतर्फ छ, विधेयक पनि दल विशेषको स्वार्थबाट आउँछ, त्यसले सहमति जुटाउने अप्ठेरो हुन्छ ।”

सांसदको बोली, व्यवहार र प्रस्तुतिप्रति जनतामा धेरै गुनासो रहेको बताउँदै उहाँले मुलुकको सर्वाेच्च निकायमा बस्ने सांसदले कम्तीमा संस्थाको गरिमालाई बुझेर मात्र आफ्नो अभिव्यक्ति सुझाव दिनुभयो ।

नेत्री अग्रहरीले भन्नुभयो, “सदनको गरिमा नबुझिकन जुन किसिमले जथाभावी बोल्नुहुन्छ, बोलेको विषय फिर्ता लिने र रेकर्डबाट हटाउनुपर्ने अवस्था जनप्रतिनिधिका लागि सुहाउँदो होइन, यो देशका लागि दुर्भाग्य हो, यस्तो प्रवृत्ति देखेर जनता चिन्तित र निराश छन् ।”

संसद्मा प्रतिपक्षले बोलेको कुरा सरकार र सत्तापक्षले हलुका ढङ्गबाट लिने गरेको बताउँदै उहाँले बोल्नका लागि बोल्ने धेरै तथा जिम्मेवारपूर्वक काम गर्ने तथा जनता र राष्ट्रको पक्षमा चिन्तन मनन गर्ने थोरै भएकाले सुशासनको पाटो कमजोर र भ्रष्टाचार मौलाएको अवस्था छ भन्नुभयो ।

भुटानी शरणार्थी, विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिएको प्रकरण तथा ललिता निवास जग्गासँग संलग्न नेतृत्वलाई संरक्षण गरिएको आरोप लगाउँदै सांसद अग्रहरीले जनताले निर्वाचनमार्फत खोजेको सुशासन, विकास र समृद्धिका मुद्दा भने राज्यकै कारण ओझेलमा परेको प्रतिक्रिया दिनुभयो ।

सांसद विकास कोषका सन्दर्भमा अदालतबाट भएको फैसलाको पूर्ण समर्थन रहेको जनाउँदै उहाँले सघीय सांसदको मुख्य जिम्मेवारी भनेको मात्र राष्ट्रको कानुन बनाउनमै केन्द्रित रहनुपर्छ भन्नुभयो ।

सांसद अग्रहरीले भन्नुभयो, “कानुन निर्माणको काम छोडेर अन्यत्र धाउने, जिल्लामा पनि मतदातालाई अलमल्याउने ढङ्गबाट चलखेल गर्ने कार्य गलत छ । सांसदको जिम्मेवारीभित्रको विषय नभएकाले उनीहरुलाई त्यो कोषमार्फत योजना छनोट गर्न दिनुहुन्न ।”

उहाँले लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने दल र व्यक्ति भएको नाताले संविधान, नीति, प्रणाली र व्यवस्था ठीक भए पनि यसलाई नेतृत्व दिने र कार्यान्वयन गर्ने पक्षको नियत भने ठीक नदेखिएको विचार प्रकट गर्नुभयो ।

सांसद अग्रहरीले भन्नुभयो, “हाम्रो देशमा नीति, नियम र ऐन ठीक छ, कार्यान्वयन पक्षको नियत भने आजसम्म ठीक देखिरहेको छैन । व्यवस्थामाथि औँला उठाउन सकिन्न व्यक्तिको कार्यशैलीप्रति आँैला ठड्याउन सकिन्छ ।”

उहाँले जनतालाई निराश नहुन आग्रह गर्दै भन्नुभयो, “धैर्यता कायम राख्नुस्, सोचेअनुरुप नभए पनि नेपालको भविष्य उज्वल छ, हामी तपाईहरुलाई हाम्रो सदासर्वदा साथ र सहयोग रहन्छ ।” -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।