बुबा मलेसियामा ,छोरालाई ब्रेन क्यान्सर छोरीलाई ब्रेन ट्युमर

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–४ बड् कादियाले (थामखर्क)का २१ महिनाका आयुष परियार ब्रेन क्यान्सरबाट पीडित छन् । उनकै दिदी १३ वर्षीया अस्मिता परियार पनि ब्रेन ट्युमरको समस्याबाट पीडित छिन् । एकै परिवारका दिदीभाइलाई प्राणघातक रोगले गाँजेपछि पिता सन्तोष परियार र आमा उर्मिला परियारलाई पर्नुसम्म चोट परेको छ ।

सन्तोष वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन् । उर्मिला ब्रेन क्यान्सर भएका छोरा र ब्रेन ट्युमर भएकी छोरीलाई लिएर अस्पताल चाहार्न बाध्य छिन् । बिरामी छोरा र छोरीको उपचारका क्रममा परियार दम्पत्तीको लाखौं रकम खर्च भइसकेको छ । छोराछोरीको थप उपचार खर्च जुटाउन परियार दम्पत्तीले सहयोगको याचना गरिरहेका छन् । परियार दम्पत्तीका तीन सन्तान छन् ।

त्यसमध्ये जेठी अस्मितालाई ब्रेन ट्युमर र एक मात्र छोरा आयुषलाई ब्रेन क्यान्सर पुष्टि भएको हो । अस्मिता र आयुषलाई लिएर अस्पताल धाउन परेपछि उर्मिलाले आठ वर्षकी छोरी कञ्चनलाई मावली घर उर्लाबारीमा राखेकी छिन् । आयुषलाई अकस्मात बेहोस हुने, बान्ता हुने, झाडापखाला लाग्नेलगायतका समस्या देखिन थाल्यो । सुरुसुरुमा धामीझाँक्रीको भर परे । स्थानीय स्वास्थ्य संस्थामा लगियो ।

तर रोग निको नभएपछि आयुषलाई गत १ चैतमा नोबेल अस्पताल विराटनगर लगिएको थियो । नोबेलले बच्चालाई ‘क्यान्सर भएको, बाँच्दैन’ भनिदियो । अत्तालिँदै विराटनगरकै विराट मेडिकल कलेज लगियो । विराट मेडिकलले वीर अस्पताल वा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज लैजान भनेपछि आयुषलाई ३ चैतमा शिक्षण अस्पतालमा भर्ना गरिएको उर्मिला बताउँछिन् ।

४ चैतमा शल्यक्रिया गरेर टाउकोबाट पानी निकालियो । २९ चैतमा अर्को शल्यक्रिया गरेपछि आयुषको स्वास्थ्य अवस्थामा सामान्य सुधार आइरहेको छ । शल्यक्रियापछि २० वैशाखमा अस्पतालबाट निकालेर आयुषलाई बालकान्ति अस्पतालमा किमो गराउने गरिएको छ ।

सुरुसुरुमा २२ दिनको फरकमा र त्यसपछि १५ दिनको फरकमा किमो दिने गरिएको छ । ‘आयुषको उपचारका क्रममा ८ लाख रुपैयाँ खर्च भइसकेको छ । ‘अझ खर्च लाग्छ भनेको छ,’ उर्मिलाले भनिन्, ‘तर माया मारिसकेको बच्चा आशा लाग्दो भएको छ । सुधार भइरहेको छ ।’ आयुषलाई निको पारेर अस्पतालको बेडबाट निकाल्न नपाउँदै दिदी अस्मितालाई गत असारदेखि रिसाउने, झर्किने, बेहोस हुँदै ढल्ने, बायाँ आँखा टेढो हेर्ने, टाउको पछाडिको भाग फुल्दै जाने समस्या देखियो ।

उर्मिलाले बिरामी आयुषलाई काखमा च्यापेर अस्मितालाई विराटनगर न्युरो अस्पतालमा पु¥याइन् । एमआरआई गरियो । ३ लाख रुपैयाँ डिपोजिट लाग्ने तथा आईसीयू, औषधिलगायतका लागि थप ५ लाख रुपैयाँ जति जम्मा गर्न लगाइयो । भनेजति खर्च जुटाउन सक्ने अवस्था नभएपछि अस्मितालाई २८ साउनमा काठमाडौं लगिएको थियो । एमआरआई र वायप्सी गरेपछि अस्मितालाई ४ असोजमा टिचिङ अस्पतालमा भर्ना गरिएको उर्मिला बताउँछिन् । अस्मिताको ब्रेन ट्युमरको बिहीबार शल्यक्रिया गरिएको छ ।

‘छोरीको उपचारमा पनि डेढ लाख खर्च भइसकेको छ । अझै ६ लाख जति खर्च हुन्छ भनेको छ,’ उर्मिलाले भनिन्, ‘ एकातिर छोराको उपचारमा खर्च भइरहेको छ । अर्कातिर छोरीको उपचारमा उत्तिकै खर्च हुँदै छ । आफैंले उपचार गर्न सक्ने अवस्था छैन । आफन्त तथा शुभेच्छुकको साथ सहयोगमा उपचार खर्च धानिरहेकी छु ।’ अस्मिता भगवती दिनानाथ मावि खोटाङ बजारमा कक्षा ८ मा पढ्छिन् । स्वास्थ्यमा समस्या आएपछि उनी विद्यालय जान सकेकी छैनन् ।

सन्तोष २०७९ मंसिरमा मलेसिया पुगेका हुन् । उनले दुःख गरेर कमाएको पैसा पनि छोरा र छोरीकै उपचारमा खर्च भइरहेको छ । छोराछोरीको उपचारका क्रममा परियार दम्पत्तीको सम्पत्ति सकिसकेको छ । परियार दम्पत्तीको आफैं उपचार खर्च जुटाउने अवस्था नभएका कारण आफन्तबिच सहयोग उठाउने अभियान थालिएको छिमेकी रोशन पौडेलले बताए ।

पौडेलका अनुसार राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, खोटाङबजारमा उर्मिलाको नाममा खोलिएको खाता नम्बर ११५०१०००४५५९१०१० मा सहयोग संकलन गर्ने व्यवस्था मिलाइएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।