आँखैअगाडि १० जना साथी ढले, हामी बाँचेको धेरैपछि थाहा भयो

काठमाडौ । दक्षिण इजरायलको किबुज अलुमिमस्थित हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्‍यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ ।

एक घन्टापछि (अन्दाजी ६.३० तिर) बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्‍यौँ, आँखा बन्द गर्‍यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए ।

त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो । त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो । यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ । साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ ।

अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् । मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रह्यौँ ।

साँझ साढे ६ बजे इजरायली आर्मी आए । हामीलाई अर्को ठूलो बंकरमा लगे । साथीहरूको शव त्यहीँ छाडेर हामी अर्को बंगरमा जानुपर्ने बाध्यता भयो । त्यहाँ थाई र इजरायली नागरिक पनि थिए । इजरायलको आर्मीले हामीलाई बीचबाटोसम्म उद्धार गर्‍यो, आधा बाटो बसमा यात्रा गर्‍यौँ । त्यसपछि नेपाली दाइहरू लिन आउनुभएको रहेछ । उहाँहरूसँगै तेलअभिभमा आएर बसेका छौँ ।

आँखैअगाडि साथीहरू भकाभक ढलेको त्यो घटना म सम्झिन पनि सक्दिनँ । जीवनमा यस्तो घटना न देखेको थिएँ, न कल्पना गरेको थिएँ । बंकर सेफ (सुरक्षित) हुन्छ भन्ने थियो, त्यो पनि सुरक्षित नभएपछि कहाँ जाने ? कसरी सुरक्षित हुने ? चार साथीहरूको उपचार भइरहेको सुनेका छौँ, एक साथीको अहिलेसम्म अत्तोपत्तो छैन । हामी नेपाल फर्किन चाहन्छौँ । अरू साथीहरूको पनि उद्धार गरेर एकैचोटि नेपाल फर्काउने भनिएको छ । हामी राजदूतावाससँग सम्पर्कमा छौँ, स्वदेश फर्किने समय कुरेर । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।