नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे आइपुग्ने

काठमाडाैँ, २५ असोज : इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५४ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेकाे थियो । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल जानुभएको थियो । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो ।

शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ ।

हालसम्म तीन सय ५० भन्दा बढी नेपाली नागरिकले आफ्नो विवरण उपलब्ध गराएका छन् । विवरण दिनेमध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

इजरायलमा हाल दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको र करिब चार हजार पाँच सय नेपाली अन्य विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको मन्त्रालयको तथ्याङ्क छ । इजरायलमा हाल अध्ययन गरिरहेका दुई सय ६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन् ।

यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । यीमध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए ।

इजरायलबाट तत्काल शव ल्याउन भने कठिन देखिएको छ । इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाहरूको शव हस्तान्तरणको कानुनी प्रक्रियाका कारण शव ल्याउन ढिलाइ हुने भएको हो । हालसम्म शवको परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले विमानमा शव ल्याउन नसकिएको हो ।

परराष्ट्र मन्त्रालयले सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रहेको र मृतकहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने जनाएको छ । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुनेबित्तिकै उच्च प्राथमिकताका साथ शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने गरिने छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।