अछामको कोदो कञ्चनपुरको सिमटारी चामल लोकप्रिय बन्दै

कञ्चनपुर, २ कात्तिक : शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित नव सिर्जना बहुउद्देश्यीय सहकारी संस्थाले कोदोको पिठो र रैथाने जातको सिमटारी धानको चामल ‘प्याकेजिङ’ गरी बजारमा बिक्री वितरण गर्न सुरुआत गरेको छ ।

सो सहकारीले कोदो अछामबाट खरिद गरेर आफ्नै प्रशोधन उद्योगमा पिठो बनाइ बेच्न सुरु गरेको हो । यसैगरी सहकारीले आफँैले उत्पादन गरेको रैथाने जातको सिमटारी धानको चामल पनि बिक्री गर्न थालेको छ । “रैथाने बालीलाई प्रवद्र्धन गर्न पहिलो चरणमा कोदो र सिमटारी चामल बेच्न सुरु गरेका छौँ”, सहकारीका अध्यक्ष भीमराज अवस्थीले भन्नुभयो, “माग धेरै छ, आपूर्ति थोरै भएकाले पु¥याउन सकिरहेका छैनौँ ।”

अन्तर सहकारी कारोबारलाई बढावा दिने उद्देश्यले अछामस्थित सहकारी संस्थासँग समन्वय गरी कोदो खरिद गरिएको उहाँले बताउनुभयो । उहाँले बजारमा रु एक सय प्रतिकिलोका दरले कोदोको पिठो बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रशोधन गरी प्याकेजिङ गरिएको सिमटारीको चामल रु ९० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । सहकारीले कोदो र सिमटारी चामलको एक किलो र पाँच किलोका प्याक बजारमा ल्याएको छ । “परीक्षणका रुपमा पहिलो पटक कोदो र सिमटारी चामल बजारमा ल्याएका हौँ”, उहाँले भन्नुभयो, “धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँबाट माग आउन थालेको छ, उत्पादन बढाउनका लागि कार्य अगाडि बढाएका छौँ ।”

कोदोमा प्रचुरमात्रामा क्याल्सियम पाइने भएकाले सुत्केरीका लागि परिकार बनाएर खुवाउन सकिने, यसको प्रयोगले स्तनक्यान्सरमा प्रभावकारी भूमिका खेल्नेसँगै रक्तचाप घटाउने र ‘कोलेस्ट्रोल’ घटाउन मद्दत पु¥याउने हुन्छ ।

कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने गरिन्छ । “पहिला कोदो अरु अन्नबालीभन्दा सस्तो हुने भएकाले गरिबको खाना भने चिन्दथे”, सहकारीका सचिव हरिप्रसाद भट्टले भन्नुभयो, “अहिले कोदोको महत्व बुझेपछि पिठो खरिद गर्नेमा धनाढ्य र हुने खाने परिवारका व्यक्ति बढी रहेका छन् ।”

सिमटारी धान सहकारीका सदस्यलाई बीउ वितरण गरी उत्पादन गरिएको उल्लेख गर्दै उहाँले सदस्यबाट उत्पादित धान रु ३५ प्रतिकिलोका दरले खरिद गरी प्रशोधन गरी चामल बनाई बेच्न थालिएको बताउनुभयो । सिमटारीको चामलमा सुगरको मात्रा नगन्यमात्रामा हुने भएकाले यसको माग बढेको उहाँको भनाइ छ । सिमटारी धान तराईको रैथाने बालीका रुपमा रहेको छ । किसानले वर्णसङ्करजातका धानबालीको खेतीलाई प्राथमिकतामा राख्न थालेपछि यो धान हराउँदै जान थालेको छ ।

सहकारीले कोदो र सिमटारीको चामलसँगै पुराना रैथाने बाली जोगाउनका लागि जनचेतना जगाउने, कृषि मेला, धान दिवस, खाद्य दिवसलगायतमा रैथाने प्रजातिका बालीका परिकार बनाई अतिथिलाई खुवाउने र प्रचार गर्ने कार्यसँगै सदस्यलाई खेती गर्न उत्प्रेरित गर्ने कार्य गरिरहेको छ । अन्तर सहकारी कारोबारलाई बढावा दिने कार्य अगाडि बढाइएको सचिव भट्टले जानकारी दिनुभयो ।

“पहाडका रैथाने बालीको उत्पादन तराईमा बेच्ने र तराईमा उत्पादित रैथाने बालीको उत्पादनलाई पहाडमा लगेर बेच्ने योजना बनाइएका छौँ”, सहकारीका व्यवस्थापक कृष्ण कुँवरले भन्नुभयो, “सोअनुसार पहाडको कोदो तराईकाले र तराईको चामल पहाडमा बस्नेले खान पाउने गरी बजार प्रवद्र्धनमा जुटेका छौँ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा २४ लाख ७० हजारको लागतमा सहकारीले प्रशोधन उद्योग सञ्चालन गर्दै आएको छ । रैथाने बालीको खेती सहकारीमा आबद्ध सदस्यले गर्ने र सहकारीले खरिद गरी बजारमा बिक्री गर्ने योजना साथ अगाडि बढेको सहकारीका अध्यक्ष अवस्थी बताउनुहुन्छ । “सहकारीलाई रकम बचत गर्ने, ऋण लगानी गर्नेमा मात्रै सीमित राख्न चाहदैनौँ”, उहाँले भन्नुभयो, “सहकारीलाई उत्पादन क्षेत्रमा केन्द्रित गरी सदस्यको जीवनस्तर उकास्नका लागि व्यावसायीकतामा जोड दिन चाहन्छौँ, यसाको सुरुआत गरिरहेका छौँ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।