उखु खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर, १० कात्तिक ः वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् ।

छ वर्षदेखि उखु खेती गर्दै आएका रानाले वार्षिक रुपमा रु छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । टे«न्च प्रविधिमा रानाले उखु खेती गर्दै आउनुभएको छ ।

चार बिघा जग्गामा रानाले उखु खेती गर्नुभएको छ । “पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो”, उहाँले भन्नुभयो, “एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली लगाउँछु, चार बिघा जग्गा लिजमा लिएर उखु खेती गरेको छु ।” चार बिघा जग्गामा एक हजारदेखि एक हजार सात सय क्विन्टलभन्दा बढी उखु उत्पादन हुने गरेको छ ।

“उत्पादित उखु चिनी मिलले खेतबाटै गाडीमा ढुवानी गरिदिने गरेको छ । पैसा बैङ्क खातामा मिलले नै हालिदिन्छ”, उहाँले भन्नुभयो, “उखु लगाउने, गोडमेल गर्ने, सिँचाइ गर्ने, मलखादको व्यवस्था गर्ने, कटान गरी मुठा बाँधेर राख्ने काम मात्रै मैले मजदुर लगाएर गर्ने गरेको छु ।”

मजदुरको ज्याला, सिँचाइ, मलखाद, जोताइमा गरी रु एक लाखदेखि एक लाख ३० हजारसम्म खर्च आउने गरेको उहाँले बताउनुभयो । घरमै बसी बसी आम्दानी हँुदै आएकाले यस खेतीलाई आधा दशकदेखि निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार एकपटक लगाएपछि तीन वर्षसम्म उखुलाई सामान्य मिहिनेत गरी आम्दानी लिन सकिन्छ । “वैदेशिक रोजगारीबाट धेरै कमाई गर्न सकिन्छ भनेर नै गाउँकै साहुबाट रु तीन लाख कर्जा निकालेर वैदेशिक रोजगारीमा कतारमा दुई वर्ष बसँे”, उहाँले भन्नुभयो, “मासिक रुपमा रु ५० हजार तलब पाइन्छ भन्ने दलालको प्रलोभनमा परेर त्यसतर्फ लागेको थिए, जब काम गर्न कम्पनीमा गए, त्यसपछि मात्रै महिनाको रु २० हजार तलब पाइने थाहा पाएँ ।”

मासिक रुपमा पाइने तलबमा खाना खर्च ब्यहोर्नु पर्ने भएकाले रु १५ हजार जति मात्रै बचत हुने गरेको विगत सम्झँदै उहाँले बताउनुभयो । तलबको केही रकम बचत गरी साहुको ऋण तिर्न भ्याएपछि घर फर्केको उहाँले उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीमा गएको भए पनि घर फर्कंदा रित्तो हात फर्केको तीतो अनुभव उहाँले सुनाउनु भयो ।

कम्पनीमा इलेक्ट्रोनिकसम्बन्धी काम सिकेकाले हाउस वाइरिङको काम गर्न थालेपछि केही रकम जम्मा गरी उखु खेतीलाई व्यावसायिक रुपमा गरेको उहाँको भनाइ थियो ।

“उखु खेतीसँगै हाउस वाइरिङको काम पनि गर्छु,” उहाँले भन्नुभयो, “श्रीमतीले सिलाइकटाइको काम गर्नुहुन्छ, उखु खेतीको आम्दानीसँगै श्रीमान्श्रीमती दुवै जनाले गर्ने कामबाट वर्षमा रु तीन लाख जति अतिरिक्त आम्दानी हुन्छ ।”

“विदेशमा भन्दा स्वदेशमै काम गरे परिवारसँगै बसेर सहज रुपमा आम्दानी लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसका लागि धैर्य, इच्छाशक्ति र लगनशीलताको खाँचो छ, व्यवसायमा थोरै लगानी गरेर पनि धेरै कमाउन सकिन्छ ।”

राना जस्तै कालागौँडी गाउँका ७० बढी किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् । उखु खेती हुने गाउँका रुपमा परिचित कालागौँडीका किसानको वार्षिक आम्दानी रु तीन लाख देखि १२ लाखसम्म रहेको वडाअध्यक्ष नवल सिंह राना बताउनुभयो । “उखु खेती गर्दा बीउ, कृषि औजार, मलखाद र सिँचाइमा अनुदानको व्यवस्था गरिए उखुको उत्पादन बढ्न सक्छ”, उहाँले भन्नुभयो, “किसानको आम्दानी बढछ, वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै रोक्न सकिन्छ ।” -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖