वन–म्यान चियर खेलाडी ‘अङ्कल पर्सी’ को निधनले श्रीलङ्का शोकमा

कोलम्बो, १४ कात्तिक (रासस/एएफपी) :वन–म्यान चियर लिडर र अन्तर्राष्ट्रिय खेलहरूमा स्थायी उपस्थिति जनाउने ‘सुपर फ्यान’ को निधनप्रति श्रीलङ्काका क्रिकेट खेलाडी तथा समाचारपत्रहरूले मङ्गलबार शोक व्यक्त गरेका छन् ।

सतासी वर्षीय पर्सी अबेसेकराको छोटो बिरामपछि सोमबार राजधानी कोलम्बो बाहिरको एक अस्पतालमा निधन भएको उहाँको परिवारले जनाएको छ ।

श्रीलङ्काका पूर्वकप्तान माहेला जयावर्धनेले अबेसेकरा ‘श्रीलङ्काली क्रिकेटरहरूको थुप्रै पुस्ताका लागि वास्तविक १२औँ खेलाडी’ रहेको बताउनुभयो ।

“उहाँ मेरो सम्पूर्ण करियरको समयमा हुनुहुन्थ्यो, हाम्रो हौसला बढाउनुहुन्थ्यो, देशको झन्डा फहराउनुहुन्थ्यो र जिते वा हारे पनि सधैँ हामीलाई हँसाउनुहुन्थ्यो”, जयावर्धनेले भन्नुभयो, “हामी सधैँ तपाईंलाई सम्झिने छौँ ‘पर्सी अङ्कल’ ।”

अर्का पूर्वकप्तान कुमारा सङ्गाकाराले अबेसेकरा पनि खेलाडीहरूजस्तै श्रीलङ्का क्रिकेट टिमको हिस्सा भएको बताउनुभयो । “मेरो डेब्युदेखि लिएर अन्तिम खेलसम्म अङ्कल पर्सी निरन्तर हुनुहुन्थ्यो, श्रीलङ्काको खेलमा उहाँको योगदान जर्सी लगाएको कुनै पनि खेलाडी बराबर छ”, उहाँले भन्नुभयो ।

‘क्रिकेटका पागल’

सन् १९९६ को विश्वकप विजेता श्रीलङ्का टिमका सदस्य सनथ जयसुरियाले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ, “हाम्रा प्रिय अङ्कल पर्सीले आफ्नो भगवान्लाई भेट्नुभएको छ भन्ने सुन्दा धेरै दुःख लागेको छ, तपाईं पहिला सुपरफ्यान हुनुहुन्थ्यो र हामी सबैका लागि तपाईं सधैँ विशेष रहनुहुनेछ ।”

जारी विश्वकपमा सोमबार अफगानिस्तानसँग श्रीलङ्काको हारपछि स्पिन बलर महेश तीक्षणाले भन्नुभयो, “म केटाकेटी हुँदा उहाँ खेलमा मुख्य व्यक्ति हुनुहुन्थ्यो, उहाँले झन्डा फहराएको मैले देखेको थिएँ, त्यसैले टिमको एउटा सदस्यका नाताले यस्तो समाचार सुन्दा निराश छु ।”

डेली एफटी अखबारले भनेको छ, “पर्सीले आफ्नो जीवन र आत्मा खेललाई सुम्पिनुभयो र उहाँ आफैँमा एउटा किंवदन्ती हुनुहुन्थ्यो ।”

सन् १९८२ मा इङ्गल्यान्डविरुद्ध टेस्ट डेब्युपछि अबेसेकरा श्रीलङ्काका खेलहरूमा लगातार उपस्थित हुनुभयो । “म पर्सी हुँ, क्रिकेटको पागल हुँ तर अल्छी क्रिकेटर, दर्शक र प्रशासकहरूप्रति मलाई कुनै दया छैन”, उहाँलाई सम्झँदै एफटीले भनेको छ ।

उहाँले इङ्गल्यान्डका ब्याट्सम्यान क्रिस टावरेलाई श्रीलङ्काको झन्डा समातेर राजधानी कोलम्बोको पी सारा ओभलको पिचमा लग्नुभएको थियो ।

उहाँका नाति र नातिनीको नाम वेस्टइन्डिजका महान खेलाडी गेरी सोबर्स र भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा गारफिल्ड र सचिन्का राखिएको छ ।

युवावस्थामा अबेसेकराले सन् १९४८ मा डन ब्राडम्यानलाई कोलम्बो ओभलमा खेलेको हेर्नुभएको थियो । करिब आधा शताब्दीपछि श्रीलङ्काले लाहोरमा अस्ट्रेलियालाई हराएर ५० ओभरको विश्वकप जितेको पनि उहाँले हेर्नुभयो । यो उहाँको जीवनकालमा क्रिकेटका हाइलाइटहरूमध्येको एक हो ।

न्युजिल्यान्डका पूर्वकप्तान मार्टिन क्रोले एकपट उहाँलाई आफ्नो म्यान अफ दि म्याच पुरस्कार दिनुभएको थियो । सन् २०१५ मा भारतले श्रीलङ्का भ्रमण गरेका बेला विराट कोहलीले उहाँसँग अँगालो मार्नुभएको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।