यात्रा ‘एड्भाइजरी’ र नयाँ कार्यविधि जारी

काठमाडौँ, १० माघ : गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले भ्रमण भिसामा विदेश जाने नेपाली ठगीमा पर्न थालेपछि भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि १३ बुँदे नयाँ यात्रा परामर्श (ट्राभल एड्भाइजरी) र छबुँदे कार्यविधि जारी गरेको छ ।

अध्यामगन विभागबाट आजदेखि लागू हुने गरी उक्त यात्रा परामर्श र कार्यविधि जारी गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी प्रेमप्रसाद दाहालले राससलाई जानकारी दिनुभयो । उहाँले उक्त परामर्श र कार्यविधि आजैदेखि लागू भएको पनि जानकारी दिनुभयो ।

‘भिजिट’ र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य भएको जानकारी दिँदै यात्रा एड्भाइजरीमा यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने भएकाले सचेत हुन आग्रह गरिएको छ ।

भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीले नक्कली कागजात पेस गर्ने, झुटा विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने जनाइएको छ ।

यसैगरी, श्रम गन्तव्य मुलुक कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराइनजस्ता देशमा विचौलियाको प्रभावमा महिलालाई भिजिट वा पर्यटक भिसामा पुगी ‘वर्किङ’ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलालाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्नेतर्फ पनि सचेत गराइएको छ ।

तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असङ्गठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्नेजस्ता सम्भावना रहेकाले काम गर्ने मनसायले विदेश जाँदा भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएरमात्र प्रस्थान गर्न विभागले अनुरोध गरेको छ ।

विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका केही नेपाली यात्री उल्लिखित मितिमा फर्कने गरेको नपाइएकाले असमान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कन पनि अनुरोध गरिएको छ ।

अन्यथा यसबाट सृजना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्र प्रस्थान गर्नुहुन र विदेश प्रस्थान गर्नुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेरमात्र भ्रमण गर्न पनि आग्रह गरिएको छ ।

यात्रा परामर्शमा भनिएको छ, “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सूचीकृत भएका विश्वविद्यालयमा भर्ना भएर विदेश जाने र सम्बन्धित विश्वविद्यालयमा नपढी गलत ढङ्गबाट काम गर्दा समस्या आउन सक्ने एवं पछिल्ला दिनमा अध्ययन भिसामा रहेर पनि काम गर्न एवं पैसा कमाउन सकिन्छ भनेर विभिन्न बिचौलियामार्फत विदेशी विश्वविद्यालयहरुमा भर्ना भई काम गर्ने मनसायले भ्रमण गर्दै हुनुहुन्छ भने काम गर्ने र पढ्ने विषय अलग–अलग भएकाले यसमा थप सतर्कता अपनाउनुहोस् ।”

विदेश यात्रामा नेपालको विमानस्थलबाट मात्र यात्रा गर्न, एनओसी लेटर लिएर यात्रा गर्न र महिलाको हकमा भारतका विमानस्थल भएर तेस्रो मुलुक यात्रा गर्दा भने थप सजगता एवं सावधानी अपनाउन पनि अनुरोध गरिएको छ । श्रम स्वीकृति लिएर विदेशमा पठाउने भनी आश्वासनसहित रकम माग गरेमा सो रकम बुझाउनुपूर्व सो इजाजतपत्रवाला संस्थाको आधिकारिकताको कागजात माग गर्न भनिएको छ ।

यस्तै शैक्षिक परामर्शदाता, ट्राभल्स एजेन्सी वा कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी आश्वासन दिई रकम मागेमा रकम नबुझाउन आग्रह गरिएको छ । आफू ठगीमा पर्दैछु भन्ने लागेमा सोको जानकारी वैदेशिक रोजगार विभाग वा नजिकको प्रहरी कार्यालय तथा नेपाल प्रहरीको टेलिफोन १०० मा जानकारी दिन पनि अनुरोध गरिएको छ ।

वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त संस्थालाई नेपाल सरकारले तोकेको न्यूनतम रकम मात्र बुझाई सोको रसिद लिन आग्रह गर्दै विभागले एजेन्टको व्यवस्था नभएकाले झुटा आश्वासन दिएमा विश्वास नगर्न पनि भनिएको छ ।

मित्रराष्ट्र भारत तथा बेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुनेबाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्ण रुपमा गैरकानुनी र राष्ट्रहित विपरीत भएको यात्रा परामर्शमा जानकारी गराइएको छ । यस्तो कार्य गर्ने व्यक्तिलाई उद्धार गर्नसमेत कठिन हुने भएकाले कुनै पनि अवस्थामा यस्तो कार्य नगर्न पनि अनुरोध गरिएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।