अमर नेम्वाङ साहित्य पुरस्कारबाट तुम्खेवा र बाँस्कोटा पुरस्कृत

पाँचथर, २६ माघ ः अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कारबाट लेखकद्वय विमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत हुनुभएको छ ।

अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौँ स्मृति दिवसको अवसरमा आज पाँचथरको फिदिममा आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले श्रष्टाद्वयलाई दोसल्ला, सम्मानपत्र र नगद पुरस्कारले पुरस्कृत गर्नुभयो । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । कवि तुम्खेवा सञ्चारिका समूह नेपालका अध्यक्ष हुनुहुन्छ भने कवि तथा नियात्राकार बाँस्कोटा नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाको अध्यक्षसमेत हुनुहुन्छ ।

उक्त पुरस्कारबाट गत वर्ष श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत हुनुभएको थियो । यस्तै विसं २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७७ सालमा डा गोविन्दराज भट्टराई र वीर नेम्वाङ तथा २०७६ सालमा डा देवी क्षत्री दुलाल र मुनाराज शेर्मा पुरस्कृत हुनुभएको थियो ।

स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा दैवी विपत्तिका प्रभावितलाई राहत वितरण गरिनुका साथै छात्रवृत्तिसमेत वितरण गरिएको छ । कार्यक्रममा एक वर्षको अवधिमा आगलागीमा परी ज्यान गुमाएका हिलिहाङ गाउँपालिका–७ का शिशिर पन्दाक, फिदिम नगरपालिका–५ का समिर खाती, फाल्गुनन्द–१ का मनकुमार नेम्वाङ र मिक्लाजुङ–७ का सरिता राईको परिवारलाई रु १० हजारका दरले राहत वितरण गरिएको कार्यक्रम संयोजन गरेको याक्थुङ लेखक सङ्घका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिनुभयो ।

अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले एक वर्षकै अवधिमा बाढी पहिरोमा परेका हिलिहाङ–७ का तिलकुमार तामाङ र आशिष माझी, फिदिम–१० का सञ्जोग यवा, फालेलुङ–४ का जुना सावदेन र फिदिम–५ का राजकुमार राईको परिवारलाई समेत रु १० हजारका दरले राहत वितरण गरेको छ । प्रतिष्ठानले फाल्गुनन्द–७ को ज्योति मावि कक्षा १० मा अध्ययनरत छात्रा प्रेमा लावतीलाई रु १० हजार रकमको छात्रवृत्ति समेत वितरण गरेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रथम अध्यक्ष अमरकुमार नेम्वाङको स्मृति दिवसका अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको वडा नं ५ मा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा २०७५ साल माघ २६ गते नेम्वाङको निधन भएको थियो । नेम्वाङका ‘सम्झनाका तरेलीहरू’, ‘अमेरिका भ्रमणका केही सम्झनाहरू’ र ‘एउटा साँझको अवसान’ गरी तीन कृति प्रकाशित छन् । उहाँका दर्जनौँ लेख, संस्मरण, निबन्ध र कविता अप्रकाशित अवस्थामा छन् ।

नेम्वाङको जन्म विसं १९९८ साउन २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बाबु नयेन्द्रराज नेम्वाङ र आमा श्रीहाङ्मा नेम्वाङको कोखबाट माइला छोराको रूपमा भएको थियो । आफ्नै गाउँको सारताप विद्यालयबाट अध्ययन सुरु गरेका नेम्वाङले सन्त रोबर्टस स्कुल दार्जिलिङ भारतबाबाट सन् १९६१ मा हाइस्कुल उत्तीर्ण गर्नुभएको थियो भने सन्ट जोसेफ कलेज नर्थप्वाइन्ट दार्जिलिङबाट १९६६ मा स्नातक उत्तीर्ण गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका नेम्वाङ पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो ।

विसं २०३३ मा जनपक्षीय उम्मेदवार भई चिलिङदिन गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित नेम्वाङ दुई पटक तत्कालीन पौवासारतापमा गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।