नेपालले आज हङकङसँग खेल्दै
काठमाडौं— नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ।
खेल नेपाली समय अनुसार बिहान ११:१५ मा मोंग कोकमा सुरु हुनेछ। नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो ।
नेपाल युवा टोलीको साथ हङकङ गएको छ। नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेखलगायतका पहिलो रोजाइका खेलाडी छैनन्।
नेपाल र हङकङबीच हालसम्म ७ टी-२० आई खेल भएका छन्। नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएकोछ। गत अक्टोबरमा मूलपानी मैदानमा नेपालले दुवै खेलमा हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो। तर हङकङ घरेलु मैदान र कन्डिसनमा केही मजबुत हुनेछ।
त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ। शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ।
नेपाली टोली
रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा ।


