आजदेखि औपचारिक रूपमा दशौँ खेलकुद सुरु : आजै नौ खेलमा प्रतिस्पर्धा
सुर्खेत, १२ मंसिर । कर्णाली प्रदेशमा जारी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (शनिबार) नौ खेलमा प्रतिस्पर्धा हुने भएको छ ।
खेल तालिकाअनुसार जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते, महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन् ।
महिला क्रिकेट वीरेन्द्रनगर रङ्गशाला र पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछन् । पुरुष फुटबल मुख्य रङ्गशाला तथा महिला बास्केटबल वीरेन्द्रनगर रङ्गशालामा सञ्चालन हुने तालिका छ ।
त्यस्तै, टेनिस बर्दियामा, कबड्डी मुख्य कबड्डी हल र जिम्न्यास्टिक मिनी कबड्डी हल (सुर्खेत) मा हुनेछन् । फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहल (सुर्खेत) तथा शारीरिक सुगठन रुकुम पश्चिमको चौरजहारीमा आयोजना हुनेछन् ।
तालिकाअनुसार शारीरिक सुगठन बिहान ८ बजेदेखि सुरु हुनेछ भने टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, कराँते, महिला क्रिकेट, पुरुष फुटबल र महिला बास्केटबलका खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछन् ।
