कोशी प्रदेशमा लागूऔषध सहित १३ जना पक्राउ
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । मंसिर ११ गते मोरङ, सुनसरी र संखुवासभाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।
मोरङको विराटनगर महानगरपालिका–१६ दक्षिण गेटमा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका सुनसरीको इटहरी उपमहानगरपालिका–५ निवासी २१ वर्षीय राज प्रधानलाई चेकजाँच गर्दा ९०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, लेटाङ नगरपालिका–३ कृतिमानका २९ वर्षीय दिनेश राई ४ ग्राम ६२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट बराहक्षेत्र–२ का ३१ वर्षीय राजिप राई ३ ग्राम २४० मिलिग्राम र मोरङको बेलबारी नगरपालिका–२ का ३३ वर्षीय रञ्जित मेहता २ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
रामधुनी र पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकलमा सवार धरान–१५ का २० वर्षीय लाजेदाङ लिम्बु र धरान–२ का १९ वर्षीय सोभन राईलाई ७६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
इटहरी–११ बाट २१ वर्षीय अभिषेक चौधरी र १८ वर्षीय विशाल हजारीलाई प्रतिबन्धित औषधि ट्रामोल २७८ ट्याब्लेट र स्पास्पेन २५८ ट्याब्लेटसहित पक्राउ गरिएको छ ।
त्यस्तै, बराहक्षेत्र नगरपालिका–६ का शुभराज राई, अमर राई, प्रविण विक र बराहक्षेत्र–८ का पर्वत कविरथलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका–१ पेट्रोल पम्प नजिकका २६ वर्षीय चिरायु पोख्रेलको घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा ३ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । उनलाई पनि नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
