धनकुटामा १० रोपनी क्षेत्रफलको गाँजाखेती फडानी, ६ हजार ५०० बोट नष्ट
धनकुटा । धनकुटामा प्रहरीले १० रोपनी क्षेत्रफलमा फैलिएको अवैध गाँजाखेती फडानी गरी ६ हजार ५०० बोट नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका मातहतका इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिल्ला र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–५ र साँगुरीगढी गाउँपालिका–८ का विभिन्न स्थानमा गाँजाका बोट नष्ट गरेको हो ।
प्रहरीका अनुसार प्राकृतिक रूपमा उम्रिएका तथा खेतबारीमा लगाइएका गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको हो ।
पछिल्लो समय धनकुटाका विभिन्न स्थानमा अवैध गाँजाखेती फडानी तथा लागूऔषध नियन्त्रण अभियानलाई प्रहरीले निरन्तरता दिँदै आएको छ ।
