किसानका समस्या र शिक्षा सुधारका सवाल उठाउँदै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

सञ्जय मिश्रा/सप्तरी, ११ मंसिर। किसानका समस्या, सामुदायिक विद्यालयको अवस्था र शिक्षा प्रणालीमा देखिएका चुनौतीहरूलाई प्रत्यक्ष रूपमा बुझ्दै जनताको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यसहित ‘हुंकार हुलाकी यात्रा’ सप्तरीबाट सुरु भएको छ।

हुंकार मधेशको आयोजनामा शुक्रबार राजविराजस्थित शिव मन्दिरबाट पहिलो चरणको यात्रा प्रारम्भ भएको हो। राजविराजबाट सुरु भएको यात्रा राजगढ गाउँपालिकाको नर्घो पुगेर किसानहरूसँग संवाद गर्दै अघि बढेको थियो।

नर्घोमा आयोजित किसान संवादका क्रममा कृषकहरूले सिंचाइ, मलखाद, बाली बिमा, कृषि उपजको उचित मूल्य निर्धारण, कृषि शिक्षा, कृषि सडक तथा विद्युत् सुविधाको अभावजस्ता समस्या उठाएका थिए। किसानहरूले कृषि क्षेत्रका समस्या समाधानका लागि राज्यले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्।

त्यसपछि यात्रा तिलाठीस्थित श्री पब्लिक माध्यमिक विद्यालय, लौनियाँ पुगेको थियो। त्यहाँ सामुदायिक विद्यालयको अवस्था, विद्यार्थी तथा शिक्षकका समस्या, पठनपाठनको गुणस्तर, पाठ्यक्रम र शिक्षा नीतिबारे विशेष अन्तरक्रिया गरिएको थियो।

अन्तरक्रियाका क्रममा सामुदायिक विद्यालयमा सरसफाइको अभाव, प्रयोगात्मक शिक्षाका लागि आवश्यक सुविधा नहुनु, भवनको कमी, विद्यार्थीको अनियमित उपस्थिति, शिक्षक समयमै विद्यालय नआउने समस्या तथा अतिरिक्त क्रियाकलापको अभावजस्ता विषय उठेका थिए।

विद्यालय व्यवस्थापन समितिले विद्यालयको अवस्था सुधारमा पर्याप्त चासो नदेखाएको तथा अभिभावक र स्थानीय तहले शिक्षा र विद्यालयप्रति आवश्यक जिम्मेवारीबोध नगरेको गुनासोसमेत सहभागीहरूले गरेका थिए।

यात्राका क्रममा राजविराजस्थित लालिगुँरास बोर्डिङ स्कुल पुगेर सरकारी तथा निजी विद्यालयबीचको अवस्थाबारे तुलनात्मक अध्ययनसमेत गरिएको थियो।

निजी विद्यालयतर्फ शुल्कमा एकरूपता नहुनु, सरकारबाट पर्याप्त अनुदान तथा सुविधा प्राप्त नहुनु, अनुमति तथा मापदण्डबिना सञ्चालन हुने विद्यालयको प्रभावकारी अनुगमन नहुनुजस्ता विषय उठेका थिए। त्यस्तै, अभिभावकले समयमै शुल्क नतिर्ने तथा विद्यार्थीमा अनुशासनको समस्या देखिने गरेको गुनासो पनि सुनिएको थियो।

अन्तरक्रियामा सहभागीहरूले पाठ्यक्रम, शिक्षा नीति, शिक्षामा एकरूपता र ज्ञान प्रणालीमा समयानुकूल परिवर्तन आवश्यक रहेको बताएका थिए। कृषि र शिक्षाका समस्या समाधानका लागि सम्बन्धित निकायले जनताको आवाजलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

हुंकार मधेशले आफ्ना २३ सूत्रीय माग यसअघि नै प्रधानमन्त्रीसमक्ष बुझाइसकेको जनाएको छ। हुलाकी यात्रामार्फत स्थानीयस्तरमा रहेका समस्या पहिचान गरी जनताको आवाजलाई थप सशक्त रूपमा उठाउने अभियानको उद्देश्य रहेको आयोजकले जनाएको छ।

यात्रामा केन्द्रीय सहजकर्ता रामकुमार कश्यप, केन्द्रीय प्रवक्ता केशव कुमार, केन्द्रीय अर्थ विभाग प्रमुख सचिदानन्द, केन्द्रीय पर्यटन विभाग प्रमुख मनोज कुमार तथा केन्द्रीय अभियन्ताहरू चन्द्रानन्द ज्योतिष, बैजु जोशी, सम्बोध कुमार, ललन शंकर र भुपेन्द्र मण्डलको विशेष उपस्थिति रहेको थियो।

केन्द्रीय अभियन्ता तथा सप्तरी जिल्ला सहजकर्ता शैशव राजुको नेतृत्वमा सुरु भएको हुंकार हुलाकी यात्राले किसान, शिक्षा, स्थानीय विकास र जनजीविकासँग जोडिएका सवाललाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ।

जनताका समस्या सुन्ने, स्थानीय आवश्यकताको पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउन दबाब सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको यस यात्राले मधेशका विभिन्न क्षेत्रका आवाजलाई एकीकृत गर्ने अपेक्षा गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖