सीमा सुरक्षा बलियो बनाउन सीमावासीसँग सशस्त्र प्रहरीको संवाद, अपराध नियन्त्रणमा सहकार्यको अपिल
रौतहट, ११ मंसिर । सीमा क्षेत्रमा बढ्दो आपराधिक गतिविधि, अवैध ओसारपसार तथा राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्र प्रहरीले स्थानीय नागरिकसँग सहकार्य बढाउने अभियान थालेको छ।
रौतहटको सीमावर्ती बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा ‘सीमावासीसँग सशस्त्र प्रहरी बल, नेपाल’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा मंसिर १० गते सम्पन्न कार्यक्रममा सीमा क्षेत्रको सुरक्षा अवस्था, स्थानीयले भोगिरहेका समस्या तथा अपराध नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल, मधेश प्रदेशका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले सीमा सुरक्षा केवल सुरक्षा निकायको जिम्मेवारी मात्र नभई सीमावासीको पनि साझा दायित्व भएको बताएका छन्।
उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय नागरिकको सूचना, सहयोग र सहभागिता महत्वपूर्ण हुने उल्लेख गर्दै सुरक्षा निकाय र जनताबीच विश्वास तथा सहकार्यको वातावरण बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
अन्तरक्रियामा सीमावर्ती क्षेत्रबाट हुने लागुऔषध ओसारपसार, चोरी पैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजाना कारोबार र राजस्व चुहावटजस्ता चुनौतीमाथि गहन छलफल गरिएको थियो।
स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूले सीमा क्षेत्रमा देखिएका समस्या, सुरक्षा चुनौती र नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे आफ्ना सुझाव राखेका थिए। सशस्त्र प्रहरीले पनि स्थानीयबाट प्राप्त सुझावलाई सीमा सुरक्षा व्यवस्थापनमा उपयोग गर्ने उद्देश्य राखेको जनाएको छ।
कार्यक्रममा डिआईजी भट्टका साथै सशस्त्र प्रहरी बल, रौतहटका प्रमुख एसपी चेतराज जोशी,, बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, ईशनाथ नगरपालिकाकी नगरप्रमुख कौशल्या देवी तथा बौधीमाई नगरपालिकाकी उपप्रमुख प्रमिलादेवी जयसवालको बीओपी सरमुजवाका इन्स्पेक्टर अच्युत सुवेदी
उपस्थिति रहेको थियो।
त्यस्तै, बौधीमाई नगरपालिका–७ का वडाध्यक्ष नरेन्द्रकुमार सिन्हा, वडा नं. ८ का पूर्ववडाध्यक्ष उपेन्द्र दास तत्मा, स्थानीय भद्रभलाद्मी तथा सीमावासीसहित करिब ५० जनाको सहभागिता रहेको थियो।
सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै अवैध गतिविधि नियन्त्रण गर्ने र सीमावासीसँगको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रमले सुरक्षा निकाय र स्थानीय समुदायबीच सहकार्यको महत्वलाई उजागर गरेको छ।
