पाख्रिबास नगरपालिकालाई नेपाली कम्युनिष्ट पार्टीको १० बुँदे ज्ञापनपत्र

सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन विकासका मागसहित नेपाली कम्युनिष्ट पार्टीले बुझायो ज्ञापनपत्र

धनकुटा । नेपाली कम्युनिष्ट पार्टी पाख्रिबास नगर समितिले पाख्रिबास नगरपालिकाका नागरिकको बृहत्तर हितका लागि १० बुँदे मागसहित नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।

राष्ट्रिय जागरण अभियानअन्तर्गत नगर समितिले मंसिर ११ गते बुझाएको ज्ञापनपत्रमा नगरपालिकाभित्र सुशासन कायम गर्न, कृषि क्षेत्रको विकास गर्न, किसानका समस्या समाधान गर्न, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न र पर्यटन प्रवर्द्धन गर्न विभिन्न माग अघि सारेको छ।

पार्टीले नगरपालिकामा दरबन्दीबाहेक राखिएका दलगत कर्मचारी हटाउन, त्यसबाट बचत हुने रकम विकास निर्माणमा खर्च गर्न तथा योजना छनोट र कार्यान्वयन प्रक्रियालाई पारदर्शी बनाउन माग गरेको छ।

त्यस्तै, कृषि सडकलाई प्राथमिकता दिन, शीत भण्डार निर्माण गर्न, किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था मिलाउन तथा कृषि उपजको बजारीकरणका लागि ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ।

ज्ञापनपत्रमा कृषकको हितमा स्थानीय कानुन तथा कार्यविधि निर्माण गर्न, पशु तथा कृषि उत्पादनको बीमा व्यवस्था गर्न र कृषि सामग्री वितरणमा हुने अपारदर्शिता अन्त्य गर्न पनि माग गरिएको छ।

स्थानीय सडकले ओगटेका किसानका जग्गाको लगत कट्टा गरी बाँकी जग्गाको हालसाबिक प्रक्रिया अघि बढाउन तथा जग्गा वर्गीकरणमा देखिएका समस्या उचित रूपमा व्यवस्थापन गर्न पार्टीले आग्रह गरेको छ।

माटो र हावापानी अनुकूल फलफूलका बिरुवा उत्पादन गरी व्यावसायिक फलफूल खेती गर्ने किसानलाई पर्याप्त बिरुवा वितरण गर्नुपर्ने तथा बाँदर नियन्त्रणका लागि ठोस पहल गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ। वन्यजन्तुबाट किसानको उत्पादनमा पुगेको क्षतिको विवरण संकलन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन र संघीय कानुनसँग नबाझिने गरी स्थानीय स्तरमै वन्यजन्तु नियन्त्रणसम्बन्धी कार्यविधि बनाउन पनि माग गरिएको छ।

शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विशेष पहल गर्नुपर्ने, सामुदायिक विद्यालयमा लिइँदै आएको शुल्क विस्थापित गर्नुपर्ने तथा संस्थागत विद्यालयका शिक्षकहरूको पारिश्रमिक र विद्यार्थी शुल्क कानुनबमोजिम नियमित गर्नुपर्ने पार्टीको माग छ। साथै, संस्थागत विद्यालयमा कानुनअनुसार १० प्रतिशत छात्रवृत्ति पाएका विद्यार्थीको नाम नगरपालिकाको वेबसाइटमा सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।

त्यसैगरी, स्थानीय भाषा, संस्कृति र इतिहासबारे अनुसन्धान गरी प्राप्त निष्कर्षलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न तथा सबै जातजाति र भाषाभाषीका मौलिक कला, साहित्य र संगीतको संरक्षण एवं विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ।

पर्यटन विकासका लागि नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरी एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा राखिएको छ।

स्वास्थ्य सेवातर्फ सबै वडामा कम्तीमा साप्ताहिक रूपमा मेडिकल विशेषज्ञसहितको ओपीडी सेवा विस्तार गर्नुपर्ने तथा सुविधा सम्पन्न मेडिकल ल्याब स्थापना गरी सामान्य स्वास्थ्य परीक्षणका लागि निजी मेडिकल तथा धनकुटाबाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने माग गरिएको छ।

ज्ञापनपत्रमा संयोजक मानबहादुर राई , सह कमाण्डर ओमप्रकाश निरौला र कमाण्डर कृष्णराम मगरको हस्ताक्षर रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖