विराटनगर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) औपचारिक रुपमा सुरु गरेको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, विराटनगर–१५ का अध्यक्ष प्रकाश साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा क्यान्सरको जाँच सुरु गरिएको हो । करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर–१५ स्थित रानी अस्पतालबाट सुरु गरिएको पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर १९ वटै वडामा सञ्चालन गरिने मेयर कोइरालाले बताउनुभयो । शिविरबाहेक महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाबाट नियमित परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको मेयर कोइरालाले प्रस्ट्याउनुभयो ।

पाठेघरको मुखको क्यान्सरका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर महानगरले व्यापक रुपमा पाठेघरको मुखको क्यान्सरको जाँच सुरु गरेको उहाँको भनाइ थियो । यसबाट समयमै पाठेघरको क्यान्सरको पहिचान भई उपचार गर्दा क्यान्सर निको हुनुका साथै मृत्युदरमा समेत कमी आउने उहाँले उल्लेख गर्नुभयो । विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको मेयर कोइरालाले बताउनुभयो । महानगरले सुरु गरेको शिविरबाट बढीभन्दा बढी लाभ उठाउन मेयर कोइरालाले आग्रहसमेत गर्नुभयो ।

महानगरको स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादवका अनुसार पाठेघरको मुखको क्यान्सरको जाँच १९ वटै वडामा नियमित हुनेछ । त्यसका लागि महानगरले ४२ जना स्वास्थ्यकर्मीहरूलाई भीआईए परीक्षणसम्बन्धी तालिम दिइसकेको छ । त्यस्तै ५ जनालाई विशेष तालिम दिइएको महानगरको स्वास्थ्य महाशाखा अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो । यसरी तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले महानगरअन्तर्गतका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरूबाट नियमित जाँच गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । ३० देखि ६० वर्ष उमेर समूहका करिब ८० प्रतिशत महिलाहरूको जाँच गर्ने लक्ष्य राखिएको छ ।

शिविरमा नोवेल अस्पतालका दुईजना स्त्रीरोग विशेषज्ञसहित रानी अस्पतालका चिकित्सक र तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले पाठेघरको मुखको क्यान्सरको जाँच गरेका थिए । मंगलबार ५८ जनाले परीक्षण गरेको नर्सिङ अधिकृत मीना अधिकारीले जानकारी दिनुभयो । परीक्षण गरेका ५८ जनामा कुनै समस्या नदेखिएको अधिकारीले बताउनुभयो ।

यसैबीच, रानी अस्पतालमा आयोजित कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको उपचारका लागि करुणा फाउण्डेसनले महानगरलाई दुई थान थर्मोकगुलेसन मेसिन हस्तान्तरण गरेको छ । फाउण्डेसनका कार्यकारी निर्देशक योगेन्द्र गिरीले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई थर्मोकगुलेसन मेसिन हस्तान्तरण गर्नुभएको थियो । सो मेसिन एउटा रानी र अर्को बैजनाथपुर अस्पतालमा राखिनेछ । फाउण्डेसनले महानगरलाई हस्तान्तरण गरेको सो मेसिन सोही कार्यक्रममा महानगरअन्तर्गतका सम्बन्धित अस्पताललाई हस्तान्तरण गरिएको थियो । स्वास्थ्य महाशाखाका संयोजक डा. यादवले रानी अस्पतालका इन्चार्ज मानिकचद भगत र वैजनाथपुर अस्पतालकी नर्सिङ अधिकृत शर्मिला निरौलालाई सो मेसिन हस्तान्तरण गर्नुभयो ।

परीक्षणका क्रममा क्यान्सरको भाइरसका असरहरू देखिएमा रानी र बैजनाथपुर अस्पतालबाट तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा थर्मोकगुलेसन मेसिनमार्फत उपचार गरिनेछ । रानी अस्पताल र बैजनापुर अस्पतालमा थर्मोकगुलेसन मेसिनबाट उपचार सम्भव नभए थप उपचारका लागि कोशी अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिनेछ ।

करुणा फाउण्डेसनले यसअघि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि महानगरसित सहकार्य गरेको थियो । फाउण्डेसनका कार्यकारी निर्देशक गिरीले महानगरसित जोडिएर काम गर्दा आफूलाई निकै आत्मसन्तुष्टि मिलेको बताउनुभयो । महानगरसितको सहकार्यलाई निरन्तरता दिँदै अहिले पाठेघरको मुखको क्यान्सरको जाँचमा पनि फाउण्डेसन सहभागी भएको उहाँको भनाइ थियो । अटिजम सेवा केन्द्र सञ्चालनका लागि पनि फाउण्डेसनले प्राविधिक सहयोग पु¥याइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।