साना दलले ठुला दल माथि शासन गर्ने स्थिति आउँदा देशमा राजनीतिक अस्थिरता बढ्यो : एमाले महासचिव पोखरेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा ठुला दलले शासन गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाद्वारा आइतबार आयोजित तीन महिने जरा केन्द्रित अभियानका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले साना दलले ठुला दल माथि शासन गर्ने स्थिति आउँदा देशमा राजनीतिक अस्थिरता बढेको बताउनुभयो ।

‘साना दलहरूले ठुला दलहरू माथि शासन गर्ने परिस्थिति उत्पन्न भयो, लोकतन्त्र भनेको जनताले विश्वास गरेका दलले शासन गर्ने व्यवस्था हो, तर नेपालमा ठुला दलहरू साना दलका सहयोगी बन्नु पर्ने, टाउकोमा साना दलहरूलाई बोकेर ठुला दलहरू हिँड्नु पर्ने’, उहाँले भन्नुभयो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रलाई नै उपहास गर्ने किसिमले आफ्नो पार्टीको ३२ सिट ५ वर्ष नै शासन गर्ने म्याजिक नम्बर भएको बताउँदै हिँड्न लागेपछि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएको उहाँले स्पष्ट पार्नुभयो । अहिलेको सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताउँदै पोखरेलले मुलुकको आर्थिक अवस्था सुदृढ गर्न, सुशासन दिन, नागरिकका समस्या समाधान गर्न अहिलेको सरकार बनेको दाबी गर्नुभयो । त्यसैको परिणाम अहिले विभिन्न अध्यादेश ल्याएर सरकारले काम अघि बढाएको पोखरेलको भनाइ छ ।

अहिले जति काम भएको छ त्यो पर्याप्त नभएको बताउँदै पोखरेलले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । मुलुकलाई निकास दिन आवश्यकता पर्‍यो भने संविधान र कानुन परिवर्तन गरेर भए पनि अघि बढ्न दुई दल बिच सहमति भएको र त्यसको अध्ययनको लागि कार्यदल समेत बनिसकेको उहाँले जानकारी दिनुभयो ।

सरकारले कुनै पनि प्रस्तावलाई असफल हुने गरी प्रस्तुत नगर्ने पनि उहाँले बताउनुभयो । सरकारले सबै काम सफल हुने गरी गर्नेमा उहाँले जोड दिनुभयो ।

सामाजिक सञ्जाल मार्फत अहिले देशमा निराशा बाँड्ने काम भइरहेको बताउँदै पोखरेलले सामाजिक सञ्जालमा आए जस्तो देशको स्थिति नभएको उहाँले बताउनुभयो । अनेक प्रकारका सन्देश प्रवाह गरेर नेपालमा अशान्ति र निराशा फिँजाउने प्रयत्न भइरहेको बताउँदै पोखरेलले त्यसलाई चिरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

नेपाली समाजलाई बुझेको र विकास र समृद्धिको दृष्टिकोण भएको पार्टी नेकपा एमाले भएको बताउँदै उहाँले एमालेलाई साथ दिन नागरिकलाई आग्रह गर्नुभयो । नेकपा एमाले जनता र कार्यकर्ताले जोगाएको पार्टी भएको पोखरेलले स्पष्ट पार्नुभयो ।

नेपाललाई अस्थिरताको भुमरीमा पार्ने अनेक प्रयास भएका भए पनि एमालेले देशलाई त्यहाँबाट माथि उठाउँदै ल्याएको उहाँले बताउनुभयो । आज देशलाई जोगाउने पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो । ‘देश बनाउने पार्टी नेकपा एमाले हो भन्ने कुरा एमालेका कार्यकर्ताले जनताका माझ गर्वका साथ लैजान सक्नु पर्दछ’, उहाँले भन्नुभयो ।

देश, जनता, विकास र समृद्धिको पक्षमा उभिएको कारण आज नेकपा एमाले माथि आक्रमण भइरहेको पोखरेलले सुनाउनुभयो । यी सबै खालका आक्रमणलाई चिरेर २०८४ को निर्वाचनमा नेकपा एमालेलाई एकल बहुमत सहितको पहिलो पार्टी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

अहिले नयाँ शक्तिको नामा गरिएको अराजकता देश र जनताको हितमा नभएको उहाँले बताउनुभयो । अब देश विकासको लागि धेरै साना दलको आवश्यकता नरहेको बताउँदै देश बनाउन बलिया राजनीतिक दल आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रमलाई एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राई, धनकुटा अध्यक्ष शिव आङ्ला लगायतले सम्बोधन गर्नुभएको थियो ।

एमालेले माघदेखि चैतसम्म तीन महिनाका लागि वडा केन्द्रित अभियान सुरु गरेको छ । जरा केन्द्रित अभियान नाम दिइएको यो कार्यक्रममा संगठनका कमीकमजोरीको मूल्याङ्कन गर्दै जनताको चासो र गुनासो बुझेर सम्बोधनको प्रयास गरिने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले जानकारी दिनुभयो । -स्रोत:सनराइज खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।