इटहरीका विवादास्पद ठेकेदार पौडेलले अझै मिलाएनन् आचार्य सँगको कारोबार

इटहरी –  इटहरीका विवादास्पद ठेकेदार भीम पौडेलले दुई वर्षअघि सात करोडको चेक बाउन्स मुद्दा ‘डिसमिस’ मिलाएको आरोप लागेको थियो।

त्यसबेला पौडेलले इटहरीकै अर्का व्यवसायी तथा आफ्ना पूर्वसाझेदार बलराम आचार्यले दिएको चेक बाउन्सको निवेदन ‘ढिसमिस’ पारेका थिए।

प्रहरी स्रोतका अनुसार दुई साझेदारबीच ‘खटपट’ भएपछि आचार्यले इलाका प्रहरी कार्यालय इटहरीमा पौडेलविरूद्ध ‘चेक बाउन्स’को ठाडो निवेदन दिएका थिए।

पटक-पटक कारोबार मिलाउन आग्रह गर्दा पौडेलले धम्क्याउँदै रकम ‘पचाउन’ खोजेपछि आचार्य प्रहरीको शरणमा पुगेका थिए।

‘सुरूमा चेक बाउन्स गर्नका लागि आचार्यले ठाडो निवेदन दिनुभयो,’ प्रहरी स्रोतले भन्यो, ‘पौडेल त्यो प्रकरण मिलाउन आएनन्। कारोबार आफैं मिलाउने भन्दै उनले आचार्यलाई भित्रभित्रै मिलाएको कुरा हाम्रो जानकारीमा आयो।’

मुद्दा-मामिलामा जाँदा फस्ने डरले पौडेलले भित्र-भित्रै ‘सेटिङ’ गरेको जानकारी आएको त्यतिबेला इटहरी प्रहरीमा कार्यरत् एक अधिकृतले सम्झिए।

ती अधिकृतका अनुसार कारोबार आफैं मिलाउन पौडेलले यतिसम्म दौडधूप गरे कि, इटहरीकै राप्रपा नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाको घरमा पुगे। सुब्बाको घरमा आचार्य र पौडेलबीच घनिभूत रूपमा छलफल गराइयो।

‘खै त्यहाँ के कसरी कुरा मिलेछ, दुबै पक्ष इलाका प्रहरी कार्यालयमा आएनन्,’ ती अधिकृतले भने।

ठाडो निवेदन दिने व्यक्ति नआएपछि प्रहरीले सोधीखोजी पनि गरेको थियो। ‘तर, राप्रपा नेताकहाँ पुगेर दुबैले उजुर-बाजुर नगर्ने सहमति गरी कुरो मिलाएको भन्ने कुरा बुझियो,’ प्रहरी स्रोतले भन्यो।

प्रहरी स्रोतका अनुसार उक्त मामिला मिलाउँदा इटहरी उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष जीवन पराजुली पनि थिए। उनैले पौडेल र आचार्यबीच सहमति भएको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए।

तर, उनले त्यो फोटो केही समयमै हटाए। पौडेलको त्यतिबेला इटहरीमा गरिमा नामको होटल थियो। त्यसका साझेदारआचार्य पनि थिए।

त्यो होटलको व्यवस्थापन अहिले सोल्टी होटललाई दिइएको छ। पौडेलको चंगुलमा फसेका आचार्य साझेदारी तोडेसँगै इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक छन्।

गरिमा होटल साथै अन्य कारोबारमा जोडिएका आचार्य पौडेलको ‘संदिग्ध’ कारोबारबारे थाहा पाएपछि उनीसँग छुट्टिन पुगेको बुझिएको छ।

पौडेलले आचार्यको लगानीको हिसाब-किताब अझै सुल्झ्याएका भने छैनन्। यो क्रम अझै पनि जारी रहेको आचार्यनिकट स्रोतले बतायो।

‘उहाँले अझैसम्म कारोबार मिलाउनुभएको छैन, केही कारोबार अझै बाँकी छ, उहाँमा फिर्ता गर्ने किसिमको नियत देखिँदैन, छलछाम र बेइमानी उहाँको पेशा नै रहेछ,’ आचार्यनिकट स्रोतले भन्यो।

उक्त स्रोतले के कति कारोबार मिलाउन बाँकी रहेको स्पष्ट नबताए पनि पौडेल कारोबारमा इमान्दार नभएको बतायो।

आफ्नो लगानी जोखिममा परेपछि आचार्यले विभिन्न निकायहरू गुहार्दै आएका छन्। आचार्य र पौडेल दुबैले यो कारोबारको शुद्धता र मेलमिलापबारे भने बोलेका छैनन्। आचार्यले यस विषयमा प्रतिक्रिया दिएनन्।

पौडेल मोरङ र सुनसरीका खोलानालामा अवैध रूपमा उत्खनन् गरी प्राकृतिक स्रोतसाधनको दुरूपयोगमा संलग्न व्यक्ति कहलिन्छन्। पूर्व-पश्चिम राजमार्ग विस्तारका क्रममा पेटी ठेक्का पाएका उनले पथरी शनिश्चरे नगरपालिका-१० जिरिखिम्तीमा अलकत्रा प्लान्ट बनाउन लागिपरेका छन्।

तर, स्थानीयले चर्को विरोध गरेपछि पौडेललाई त्यहाँ समस्या परेको छ। उनले जिरिखिम्तीको वातावरण विनाश गरेको आरोप लागेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।